अमेरिका । अगष्ट १९ मा हुने मिस नेपाल युएसए २०१८ को तयारी तीब्र रुपमा भइरहँदा उपाधि यात्राका लागि अन्तिम प्रतिष्पर्धामा रहेका १८ जना प्रतिष्पर्धीहरु यतिबेला प्रशिक्षणमा जुटेका छन् ।
अन्तिम प्रतिष्पर्धाका लागि अदिति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल र स्वीकृती भट्टराई छानिएका छन् । छानिएका प्रतिष्पर्धीहरुले पूर्व मिस नेपाल मेलिना जोशी, कोरियो ग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठवाट विभिन्न विधामा प्रशिक्षण लिइरहेका छन् ।
प्रतिष्पर्धीहरुबिच गरिएको परिचयात्मक कार्यक्रममा उनीहरुले मिस नेपाल युएसएमा आफ्नो सहभागितालाई अवसरको निर्माणको आधार भएको बताएका छन् ।
इभेन्ट प्लानेट इंकले इ प्लानेट नेपालको सहकार्यमा २०११ देखि गर्दै आएको मिस नेपाल युएसएको छैठौं संस्करणको व्यवस्थापन नेपाल ११ इन्टरटेइमेण्टले गर्ने जनाएको छ । टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको कार्यक्रममा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डले समेत साथ दिएको छ ।
यो प्रतियोगितामा मिस नेपाल युएसएको उपाधिका साथैं फस्ट रनर अप र सेकेण्ड रनर अप समेत घोषित गरिनेछ भने मिस पब्लिक च्वाइस, मिस कल्चर, मिस पर्सनालिटि, मिस क्याटवाक, मिस ट्यालेन्ट,मिस फोटोजेनिक, मिस डिसिपिलिन, मिस एकेडेमिक एक्सिलेन्स, मिस सोसल एक्सिलेन्स र मिस नेपाल टेक्सस विधामा समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५