काठमाडौं । गैर आवासीय नेपाली (एनआरएन) ले पनि अब नेपाली नागरिकता पाउने भएका छन् । सरकारले नागरिकता सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक बुधबार संसदमा दर्ता गराएपछि उक्त विधेयकमा रहेको प्रावधान बमोजिम नागरिकता पाउने व्यवस्था हुन लागेको हो ।
बुधबार सरकारका तर्फबाट गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उक्त विधेयक संसदमा दर्ता गराएका थिए । विधेयकमा विदेशमा रहेका नेपाली नागरिकलाई शर्तसहित नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।
विधेयकमा लेखिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।’
गैर आवासीय नागरिकता लिन चाहने व्यक्तिले बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण, नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र गृहमन्त्रालयसमक्ष पेश गर्नुपर्ने हुन्छ । यी प्रमाण पुगेपछि मन्त्रालयले एनआरएनलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ ।
यस्तै, नेपालीसँग विवाह गर्ने विदेशी महिला र विदेशीसँग विवाह गर्ने नेपाली महिलाले पनि नागरिकता पाउने भएका छन् । नेपाली पुरुषसँग विवाह गरेकी महिलाले विदेशको नागरिकता लिएको भए उक्त नागरिकता त्याग गर्नुपर्ने हुन्छ । नेपाली पुरुषसँग विवाह गरेपछि नेपालको नागरिकता लिएको मितिले ६ महिनाभित्र विदेशी नागरिकता त्यागेको जानकारी गराउनु पर्ने व्यवस्था गरिएको छ । विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी नेपाली महिलाले पनि नेपालको नागरिकता प्राप्त गर्ने भएकी छन् । यसअघि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाले नागरिकताका लागि निवेदनसम्म दिन नपाउने व्यवस्थालाई उल्ट्याएर विदेशीसँग विवाह गरेकी महिलाले विदेशी नागरिकता नलिएको वा विदेशी नागरिकता परित्याग गरेको अवस्थामा नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
नयाँ व्यवस्था अनुसार नेपालकै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरेपनि पुरानै ठाउँको नागरिकता छ भने त्यो परिवर्तन गर्न पाइने भएको छ । यस्तो अवस्थामा पहिले पुरानो ठाउँबाट लिएको नागरिकता भने सरकारलाई फिर्ता गर्नुपर्ने हुन्छ ।
यस्तै, नेपाली नागरिक महिलाबाट जन्मेको व्यक्तिको बाबु पहिचान हुन नसकेको अवस्थामा उक्त व्यक्तिले आमाको नामबाट वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । तर, पछि गएर बाबु विदेशी हो भन्ने पहिचान भएमा भने उक्त व्यक्तिले वंशजको आधारमा प्राप्त गरेको नागरिकता खारेज हुनेछ । त्यसपछि उक्त व्यक्तिले बाबुको नामबाट विदेशी नागरिकता नलिएको भनि स्वघोषणा गरेमा अंगिकृत नागरिकता लिन सक्ने प्रावधान गरिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०७५