युएई । युएई सरकारले विभिन्न कारणले गैरकानुनी रुपमा आफ्नो देशमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको लागि आममाफीको समय दिएको छ । आममाफी बुधबारदेखि सुरु भएको छ । अगष्ट १ देखि अक्टोबर ३१ सम्ममा युएईले दिएको यस अवसरमा अवैधानिक रुपमा युएईमा बसिरहेका अरु विदेशी नागरिक सहित नेपालीले पनि फाइदा लिन सक्नेछन् ।
नेपाली दूतावासले युएईमा अवैधानिक रुपमा रहेका सबै नेपालीलाई आममाफीको प्रक्रियामा सहभागी हुन जतिसक्दो चाँडो दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ ।
यस अवसरमा भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउनेछन् । यसका साथै आफूलाई पाएक पर्ने ठाउँको अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिने र दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने पनि दूतावासले जनाएको छ । यात्रा अनुमति पत्र पाएको एक हप्ताभित्र युएई छाडिसक्नुपर्नेछ ।
युएईमा भिसा अवधिभन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउनेछन् । तर उनीहरुको हकमा ६ महिनासम्मको अस्थायी भिसा हुनेछ । ६ महिनाको समयमा काम गर्ने सम्बन्धित कम्पनीको प्रायोजनमा कामदार अनुमति भिसा लगाइसक्नु पर्नेछ । कामदार अनुमति भिसा लगाउन नसकेमा अतिरिक्त शुल्क तिरेर फेरि अस्थायी भिसामा बस्न पाइने छ । स्वदेश फर्किन चाहेमा जरिवाना र कुनै प्रतिबन्ध लगाइने छैन ।
पासपोर्ट नभएका तर भिसा लगाएर वैधानिक भई काम गर्न चाहने नेपालीको हकमा दूतावासमार्फत निवेदन दिएर राहदानी बनाउन सकिने दूतावासले जनाएको छ । दूतावासले परराष्ट्र मन्त्रालय तथा राहदानी विभागसँगको समन्वयमा युएईबाट आवेदन दिएका राहदानी फास्टट्रयाकबाट दूतावासमा आउने गरी काम गर्ने तयारी गरेको छ ।
आफ्नो देश फिर्ता हुन चाहेका नागरिकले शुल्क वा सजाय तिर्नुपर्ने छैन । यसरी स्वदेश फर्किएकाहरु फेरि युएई आउन पाउनेछन् । हवाइ टिकट भने व्यक्ति स्वयमले नै तयार बनाउन पर्छ ।
भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउनेछन् ।
यस निर्णयले अवैध रुपमा यूएईमा बसिरहेका विदेशी नागरिकहरुका लागि सहज भएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १५, २०७५