लिस्बन (पोर्चुगल) । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको बताएका छन् ।
प्रवासी नेपाली मञ्च पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तक्र्रियामा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘जनताले स्थिरता र समृद्धिको पक्षमा जनादेश दिएको हो, वर्तमान सरकार सोही जनादेशअनुरुप नै मुलुकको समृद्धि र विकासमा लागिपरेको छ ।’
आगामी १२ वर्षभित्रमा मध्यम आय भएको मुलुकका रुपमा विकास गर्ने लक्ष्यका साथ सरकार अघि बढेको भन्दै उनले अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि सोही अनुकूलको वातावरण निर्माणमा सरकार लागेको दाबी गरे । ज्ञवालीले भने, ‘छिमेकी मुलुक, विकासमा साझेदार, श्रम गन्तव्य मुलुक र सयुंक्त राष्ट्रसंघलगायत बहुपक्षीय सयन्त्रमार्फत् अन्तर्राष्ट्रिय लगानी भित्र्याउने योजनाका साथ सरकार अघि बढेको छ ।’
नेपालका आन्तरिक मामिलामा विगतमा हुने गरेका हस्तक्षेपको अन्त्य गर्दै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध नयाँ शिराबाट अघि बढेको र दुबै देशसँग विश्वासको नयाँ आधार सिर्जना भएको उनको भनाइ थियो ।
छिमेकी मुलुकसँगको सम्बन्ध सुधारसँगै जलमार्ग, रेलमार्ग र कृषिमा साझेदार जस्ता सहयोगका नयाँ योजना पहिल्याइएको र वर्तमान सरकारले विधिको शासन लागू गर्न खोजेको उनले बताए ।
ज्ञवालीले भने, ‘विधिबाट बाँधिनुपर्दा कतिपय साथीलाई अधिनायकवादको भूतले सताएको छ ।’ तर मर्यादित ठाउँमा जुलुश निकालौं भन्दा अधिनायकवाद नहुने उनले दाबी गरे ।
ज्ञवालीले लोकतन्त्र मर्यादित नभए लोकतन्त्रप्रति जनताको आस्था टुट्दै जाने धारणा व्यक्त गरे ।
आमरण अनशनरत डा. गोविन्द केसीका मागका विषयमा सरकार गम्भीर रहेको भन्दै मन्त्री ज्ञवालीले चिकित्सा शिक्षामा देखिएका विकृति र विसङ्गतिको अन्त्यका लागि अधिकारसम्पन्न चिकित्सा शिक्षा आयोग बनाएर समाधान गर्न लागिएको प्रष्ट पारे ।
प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५