काठमाडौं । ‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ यही असार २७ गते राष्ट्रिय सभागृहमा हुने भएको छ । राष्ट्रिय युवा परिषद्ले आयोजना गर्न लागेको उक्त भेलामा जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, साउदी अरब, मलेसियालगायत मुलुकमा लामो समयदेखि बसेर व्यावसायिक सीप, प्राविधिक ज्ञान तथा अर्थोपार्जन गरेका करीब ५०० युवाको सहभागिता रहने बताइएको छ ।
भेलामा युवालाई स्वदेशमा लगानी गर्न सक्ने पूर्वाधारको निर्माण तथा स्थानीय तहमा भएका सम्भावना र चुनौतीका विषयमा छलफल गरिने कार्यक्रम रहेको छ ।
रोजगारीका सिलसिलामा विदेश गई अनुभव र पूँजी सञ्चय गरेका युवा स्वदेश फर्केपछि यहाँ गरिने उद्योगले सिर्जना गर्ने रोजगार, सरकारलाई बुझाउने राजश्व, कच्चा पदार्थको संकलन तथा त्यसको आयातमा सहुलियत उपलब्ध गराउने विषयमा छलफल हुनेछ ।
स्वदेशमा उत्पादन हुने वस्तुको लागत तथा त्यसको बजारीकरण गर्ने विषयमा प्रचलित नीति नियमबारे विश्लेषण गरी सरकारलाई आवश्यक सुझाव उपलब्ध गराइने छ ।
भेलामा गरिने अन्तक्र्रिया तथा छलफलबाट प्राप्त हुने विषयवस्तुका आधारमा परिषद्ले आगामी दिनमा स्वरोजगारका क्षेत्रमा नयाँ कार्यक्रम निर्माण गर्ने जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, असार २३, २०७५