पर्यटन मन्त्री रविन्द्र अधिकारीले नेपाली सधै नेपाली नै हुने हुँदा भुतपूर्व वा वर्तमान भन्न नहुने बताएका छन् । गैर आवासीय नेपाली संघ र एनआरएनए अमेरिकाद्वारा आयोजित विज्ञ सम्मेलनको शनिबार अमेरिकामा नेपाली समुदायलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
केही समयअघि वर्तमान सरकारकै एक मन्त्रीले गैर आवासीय नेपालीहरुलाई भूतपूर्व नेपाली भनेको प्रति यस विषयमा सम्मेलनका सहभागीहरुले सरकारको आधिकारिक धारणा मागेका थिए ।
‘हामी नेपाली जहाँ बसे पनि नेपाली नै हौं,’ मन्त्री अधिकारीले भने –‘अब तपाईँ यता (विदेश) र उता (नेपाल) बस्ने सवै नेपाली हातेमालो गरेर अगाडि बढ्ने हो । तपाईँहरू सबै धनी र सम्पन्न हुनुभयो तर देश सम्पन्न हुन सकेन भने सुखी र खुसी हुन सक्नुहुन्न । त्यसैले देशलाई समृद्ध बनाउने काममा हामी सबै लाग्नु जरूरी छ ।’
अमेरिकाका क्षेत्रीय संयोजक गौरी जोशीको सभापतित्वमा भएको उदघाटन समारोहमा अमेरिकाका अध्यक्ष केशव पौडेलले स्वागत र आइसिसि सदस्य डिल्ली भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए । सम्मेलन शनिबारसम्म चलेको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५