यही फागुन १८ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियुको निर्वाचन हुँदैछ । निर्वाचनका लागि विद्यार्थी संगठनहरुले तयारी तीव्र पारेका छन् । ८ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनले विद्यार्थीहरुमा उत्साह छाएको पनि छ । निर्वाचनका सन्दर्भमा यसअघि स्ववियुमा पहिलो शक्तिका रुपमा स्थापित अनेरास्ववियुका महासचिव ऐन महरसँग आजको न्युजले गरेको कुराकानी ।
अनेरास्ववियु के हो ?
–अनेरास्ववियु देशभक्त र जनवादी विद्यार्थीहरुको साझा संगठन हो । यसले राष्ट्रियता, जनजिविका, राजनीतिक परिवर्तन, सामाजिक न्याय र समग्रमा विद्यार्थीको हकहित र विद्यार्थीका समस्या समाधानका निमित्त आवाज उठाउने र आन्दोलन गर्ने काम गर्दै आइरहेको छ । अनेरास्ववियुले नेपाली जनताहरुलाई सचेत गराउँदै सामाजिक जागरण ल्याउने काम गरिरहेको छ । पछिल्लो समय यस संगठनले राजनीतिक र सामाजिक परिवर्तनका निम्ति, विकृति विसंगतीका विरुद्ध आवाज बुलन्द गराउँदै आएको छ । यसैगरी अनेरास्ववियुलाई सबैले चिन्छन ।
स्ववियुमा अनेरास्ववियुको तयारी के छ ?
–आठ वर्षपछि स्ववियु निर्वाचन हुँदैछ, यो स्वागत योग्य कुरा पनि हो । अनेरास्ववियुको तयारी निर्वाचनमा जित हाँसिल गर्ने छ । यसअघि अनेरास्ववियुले कायम राखेको बर्चस्वलाई निरन्तरता दिँदै थप सुधार गर्ने हाम्रो तयारी छ ।
महरसँगकाे कुराकानी हेर्न र सुन्न यहाँ जानुहाेस
स्ववियुमा जित्ने आधार के हो ?
–स्ववियु निर्वाचन जित्ने हाम्रा विभिन्न आधारहरु रहेका छन । त्यसमध्येका राजनीतिक र शैक्षिक आधार महत्वपूर्ण हुन्छ । हाम्रो निरन्तरको गतिबिधि पनि एउटा महत्वपूर्ण आधार हो । हामी लोकतन्त्रका पक्षमा छौँ, हामी सामाजिक न्यायका पक्षमा छौँ, हामी समृद्धिका पक्षमा छौँ । त्यसकारण यी मुद्दाहरु विद्यार्थीको बीचबाट अनुमोदन हुन्छ भन्नेमा हामी छौँ । यी आधारले गर्दा अनेरास्ववियु स्ववियु निर्वाचनमा पहिलो हुनेमा कुनै शंका छैन ।
तपाईहरुलाई विद्यार्थीले मत किन दिने ?
–हामीले विद्यार्थीको शैक्षिक मुद्दा सबैभन्दा बढी उठाएका छौँ । सबैभन्दा ठूलो कुरा त हामीले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण दिलाउने विषयमा सरकारकाबाट निर्णय गर्न जुन भूमिका खेल्यौ यसले गर्दा हामीलाई विद्यार्थीले मत दिनुहुन्छ । हामीले शिक्षालाई उत्पादनसँग जोड्न शिक्षा नीतिमै परिवर्तन गर्न जोड दिइरहेका छौँ । विद्यार्थी साथीहरुले क्याम्पसमा भएका विकृति र विसंगतिलाई अन्त्य गर्न पनि हामीलाई मत दिनुहुन्छ ।
अनेरास्ववियुले गरेका महत्वपूर्ण पाँच काम बुँदागत रुपमा भनिदिनुस ?
–अनेरास्ववियुले पाँच हैन पाँचहजार महत्वपूर्ण काम गरेको छ । विक्रम संवद २०२२ सालमा अनेरास्ववियुको स्थापना भएपछि हामीले यतिधेरै असंख्य काम गरेका छौँ कि त्यसको वयान पाँच बुँदामा मात्र गर्न सम्भव नहोला । जब राष्ट्रियताको सबालमा संकट हुन्छ त्यसबेला अनेरास्ववियुले चट्टानी रुपमा आफूलाई उभ्याउँदै आएको छ । जनजिविका विषयमा पनि हामी बोल्दै आएका छौँ । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सबैभन्दा बढी संघर्ष, बलिदान र योगदान अनेरास्ववियुले गरेको छ । हरेका आन्दोलन सफल बनाउन अनेरास्ववियुले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । हामी शैक्षिक आन्दोलनको पनि नेता संगठन हौँ । हामीले जनतालाई जागरुक गराउन समेत महत्वपूर्ण काम गर्यौँ । हाम्रै कामका कारण अनेरास्ववियु आज सबैभन्दा लोकप्रयि विद्यार्थी संगठन बनेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७३