काठमाडौं । साउदीको एक अदालतले एक नेपाली नागरिकलार्इ मृत्युदण्डको फैसला सुनाएको छ।
साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला सुनाएको हो ।
उनलाई जुवेलस्थित केन्द्रीय कारागारमा राखिएको छ । त्यस जेलमा उमेशसहित २२ नेपाली छन् ।
जुबेलस्थित ‘जनरल कोर्ट’ ले सुनाएको फैसलालाई उल्टाउँदै पुनरावेदन अदालतले वैशाख २ गते (अप्रिल १५) मृत्युदण्डको फैसला सुनाएको रियादस्थित नेपाली दुतावासले जनाएको छ ।
यसअघि जनरल कोर्टले १५ मार्च २०१७ मा यादवलाई ११ वर्ष कैद, ११ सय कोर्रा र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो । जनरल कोर्टको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालय पुनरावेदनमा गएको हो ।
रियादस्थित नेपाली दूतावासले उमेशको जीवनरक्षाका लागि अदालतसमक्ष पुन: पुनरावेदन गर्ने तयारी गरेको छ ।
‘अदालतले आफ्नो फैसला चित्त नबुझेमा पुनरावेदन गर्न ४८ दिनको समयसीमा तोकेको छ,’ उपनियोग प्रमुख आनन्दराज शर्माले भने, ‘हामी भोलि नै निवेदन दर्ता गर्दै छौं । त्यसको तयारीका लागि दूतावासका प्रतिनिधि जुवेल पुगिसकेका छन् ।’
जुवेल पुगेका दूतावासका प्रथम सचिव विजयकान्त राउतको टोलीले बुधबार उमेश यादव र फैसला गर्ने न्यायाधीशलाई भेटेको छ । ‘फैसला आएदेखि नै उमेश निराश छन् । चिन्ताले खाना पनि खाएका छैनन् । बचाइदिन आग्रह गर्दै धेरैबेर रोए,’ राउतले भने, ‘दूतावासले जीवनरक्षाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलायौं ।’
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५