त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा लामो समयपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फेरि हुँदैन कि भन्ने संशयका बीचमा विद्यार्थी संगठनहरुले आफ्नो तयारीलाई तीव्र बनाएका छन । त्रिभुवन विश्वविद्यालयले पनि आफ्नो तयारी अघि बढाइरहेको छ । यही बीचमा राजनीतिक दलहरुले पनि निर्वाचनको वातावरण तयार गर्न सरकारसँग सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन । विगतमा स्ववियुमा सबैभन्दा ठूलो संगठनको पहिचान बनाएको अनेरास्ववियु यो निर्वाचनमा कुन तयारीका साथ अघि बढ्दै छ सबैको चासोको विषय बनेको छ । अझ उसको मातृ पार्टीको राष्ट्रवादी छवीका कारण अनेरास्ववियुले विगतमा भन्दा आफ्नो अवस्थामा धेरै सुधार गर्ने अपेक्षा पनि गरिएको छ । आम अपेक्षा अनुसार अनेरास्ववियुले के गरिरहेको छ भन्ने विषयमा आजको न्युजले अध्यक्ष नविना लमासँग गरेको कुराकानी ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्व सन्ध्यामा विभिन्न कलेज र क्याम्पसमा तालाबन्दी भएको छ कसरी समाधान खोज्दै हुनुहुन्छ ?
–हामी समस्याको समाधान सहमतिको माध्यमबाट गर्ने कोशिश गरिरहेका छौँ । स्ववियुलाई बचाउने कुरामा हामी दृढ छौँ । केही साथीहरुको असन्तुष्टिहरु वार्ताको माध्यमबाटै समाधान खोज्दै छौँ ।
तोकिएकै मिति अर्थात फागुन १४ मै निर्वाचन हुन्छ ?
–हामी त्यसका लागि दृढ संकल्पित छौँ । राजनीतिक दलहरु, सरकार र त्रिभुवन विश्वविद्यालयले पनि निर्वाचनको वातावरण तयार गर्ने आश्वासन दिनुभएको छ । त्यसकारण अहिलेसम्मको अवस्थालाई विश्लेषण गर्ने हो भने निर्वाचन हुनेमा कुनै शंका छैन ।
स्ववियु निर्वाचनका लागि अनेरास्ववियुको तयारी कस्तो छ ?
–अनेरास्ववियु स्ववियुको निर्वाचनको लागि मात्र तयारी गर्ने संगठन हैन । हामी जहिल्यै विद्यार्थीको माझमा रहेको छौँ । विद्यार्थीका हक हितका लागि अनेरास्ववियु अनवरत रुपमा लागि परेको छ । शैक्षिक मुद्दामात्र हैन राष्ट्रियता र लोकतन्त्रका लागि पनि अनेरास्ववियु लडिरहेको छ । जुन कुरा आम विद्यार्थीलाई जानकारी नै छ ।
यस्तो तयारीले मात्रै तपाईहरुले भनेको जस्तो संख्यामा जित हासिल गर्न सक्नुहुन्छ त ?
–हामीले विगतमा के ग¥यौँ, आज के गरिरहेका छौँ र भोलि के गर्दै छौँ भन्ने विषयलाई स्पष्ट ढंगले राखिरहेका छौँ । हो यही कारण पनि अन्य संगठनहरु भन्दा अब्बल छौँ भन्ने त आम विद्यार्थी साथीहरुले बुझिसक्नु भएको छ । यतिमात्र हैन हामीले शिक्षाको नाममा भएको व्यापारीकरणको बिरोध गर्दै सामूदायिक विद्यालय र क्याम्पसहरुको स्तरवृद्धि र शैक्षिक गुणस्तर सुधारमा जोड दिँदै आएका छौँ । पछिल्लो पटक संविधान कार्यान्वयन र राष्ट्रियताको जगेर्नाको लागि सरकारलाई दबाब दिँदै आएका छौँ । यही स्ववियुको निर्वाचन गर्नुपर्छ भनेर पनि हामी लामो समयदेखि आवाज उठाउँदै आयौ, आज हाम्रो बलमा यो सम्भव पनि भएको छ । अनेरास्ववियु निर्वाचन केन्द्रीत भएरमात्र काम गर्ने संगठन नभएकाले पनि हामी विद्यार्थी साथीहरुको आशा र भरोसाको केन्द्र बनेका छौँ । अहिलेको निर्वाचनले विद्यार्थीहरुमा भएको राष्ट्रवादलाई व्यवहारमा उतार्ने काम गर्दैछ यहाँ राष्ट्रवादी शक्ति छान्ने कि भारतीय दलालको पक्षपोषण गर्ने भन्ने देखिदैछ । निर्वाचनको नतिजा आएपछि त्यसलाई हामीले मसिनो रुपमा संलेषण गर्न सक्छौँ तर मलाई लाग्छ दुई तिहाइभन्दा बढी विद्यार्थी साथीहरुले राष्ट्रवादी शक्तिको रुपमा अनेरास्ववियुलाई नै रोज्नुहुनेछ ।
लामासँग गरिएको कुराकानी यहाँ हेर्न र सुन्न सक्नुहुनेछ ।
अनेरास्ववियुको निर्धारित लक्ष्य प्राप्त गर्न गुटबन्दीले प्रभाव पार्दैन ?
–नेकपा एमाले एउटा लोकतान्त्रिक क्याडरबेस पार्टी हो । आम विद्यार्थीहरुको एउटा साझा मञ्चको रुपमा रहेको अनेरास्ववियुको गौरवशाली इतिहास रहेको छ । संगठनभित्रको आन्तरिक प्रतिस्पर्धालाई यहाँहरुले गुटबन्दीको रुपमा बुझिदिनु भएन । हामी अन्य संगठनहरुसँग प्रतिस्पर्धा गर्ने बेलामा यो या त्यो व्यक्ति भन्दा पनि सिंगो अनेरास्ववियु एक भएर अघि बढ्दै छौँ । हामी सबै एक छौँ र अनुशासित पनि छौँ ।
उमेर हदको कारण अनेरास्ववियुलाई कुनै समस्या छ कि छैन ?
–यसमा हामीलाई कुनै समस्या छैन । हामी जहिल्यै नेतृत्व विकस र हस्तान्तरणको पक्षमा छौँ । र हाम्रो विगत हेर्नु भयो भने पनि यो कुरामा छर्लङग हुन सक्नुहुन्छ । हामीले त त्रिविले प्रस्ताव गर्दा नै स्वागत गरेको विषय हो । यसले हामीलाई कुनै समस्या पार्दैन ।
विद्यार्थी आन्दोलन कमजोर भएको आरोप छ नि ?
– यसका धेरै पाटाहरु छन र यसलाई प्रष्ट्याउन पनि आवश्यक छ । हो यो विषय हामीले आत्मसात पनि गरिसकेका छौँ । केही कमजोरी पक्कै भएका छन । अब विद्यार्थी आन्दोलनलाई उत्पादनसँग जोड्दै अघि बढ्नु पर्नेछ र यसको मुख्य अभिभारा अनेरास्ववियुसँग छ । विगतको हाम्रो नेतृत्वले देखाएको बाटो हामीले अबलम्बन गर्न सक्यौँ कि सकेनौँ भन्ने पनि छ । आउँदै गरेको स्ववियु निर्वाचनले पनि विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा कुनै शंका छैन । हामी विद्याथीलाई अनुशासित भएर पढ्न, गुरुहरुको सम्मान गर्न समेत सिकाइराखेका छौँ । र अब विद्यार्थीलाई उत्पादनसँग जोडेर प्रविधिमैत्री बनाउनुपर्छ भन्ने मान्यताको साथ अघि बढिरहेका छौँ ।
भने पनि निर्वाचनको प्रचार पनि प्रविधि मैत्री हुन्छ ?
–हामीले त मतदान नै विद्युतिय मेसिनबाट हुनुपर्छ भन्दै आएका छौँ । विगतमा हुने भित्ते लेखन र पम्प्लेटिङलाई कम गरिसकेका छौँ । हामी कसरी सहज र राम्रो हुन्छ त्यसतर्फ रुपान्तरित भएर अघि बढ्ने प्रयासमा छौँ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७३