काठमाडौँ । मानव तस्करहरूको निशानामा नेपाली महिलाहरू पर्दै अाएका छन् । पछिल्लो समय रोजगारीको प्रलोभनमा पारेर नेपाली महिलाहरूलार्इ खाँडी मुलुकसम्म पुराउने गिरोह नै सक्रिय बनिरहेको छ ।
मानव तस्करहरूले अवैधानिक रूपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रूपमा साउदी अरब पुर्याएका छन् । अधिकांश महिलालाई कुवेत हुँदै साउदी पुर्याइएको हो । हाउसमेड पठाउन प्रतिबन्धित साउदीमा कुवेतका मानव तस्करले तेस्रो बाटो प्रयोग गरेर लैजाने गरेको खुलासा भएको हो ।
साउदी सरकारले आफ्नो देशमा कार्यरत घरेलु महिला कामदारको यो तथ्यांक नेपाली दूतावासलाई एक महिनाअघि उपलब्ध गराएको थियो । कुवेतको आवासीय भिसा लगाई अस्थायी रूपमा साउदी पुर्याइएका महिला कामदारको संख्या भने साउदी सरकारले बुझाएको तथ्यांकमा उल्लेख छैन् ।
कुवेतबाट साउदी ल्याई समस्यामा परेका नेपाली महिला भागेर आश्रयका लागि दिनहुँजसो रियादस्थित नेपाली दूतावास र जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालय पुग्ने गरेका छन् । यी नियोगहरूले हरेक महिना जसो नेपाली महिलार्इ नेपाल फर्काउँदै अाएको छ ।
यसरी उद्दार गरी नेपाल फर्काइने महिलामा अधिकांश कुवेतको बाटो हुँदै साउदी पुगेका छन् । कुवेतबाट स्पोन्सरसँगै हाउसमेडको रूपमा नेपाली महिला साउदी पुग्छन् र साउदीबाट स्पोन्सर फर्किँदा नेपाली महिला भने साउदीमै छाडिन्छन् ।
साउदीमा नेपालसहित एसियाली मुलुक तथा अफ्रिकी मुलुक घाना र इथियोपियाले घरेलु कामदार पठाउन रोक लगाएपछि साउदीले आफ्नो श्रम कानुन संशोधन गरेको छ । घरेलु कामदारलाई श्रम कानुन लागू हुने भन्दै मानव तस्करी गर्ने म्यानपावरलाई कडा कारबाही गर्ने साउदी सरकारको नीति छ ।
संयुक्त राष्ट्रसंघीय विशेष दूत फिलिपे गोन्जालेस मोरालेसले नेपालले महिला कामदारमाथि भेदभावजन्य नीति लिएको बताए । ‘महिलाहरू तस्करको सिकारमा परेका छन् । उनीहरूलाई रोक्ने विभेदपूर्ण नीतिले मात्रै समस्याको समाधान हुँदैन,’ उनले भने, ‘सरकारी निकायबाट महिलाका लागि उपयुक्त रक्षा गर्ने प्रणाली विकास गरिनुपर्छ ।’
प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४