काठमाडौं । नेपाली चिकित्सक सन्दुक रूइतलार्इ भारत सरकारले पद्मश्री पुरस्कार प्रदान गर्ने भएको छ । भारतको ६९ अाैँ गणतन्त्र दिवसको अवसरमा नेपाली आँखा चिकित्सक डा. रुइतलाई भारत सरकारले प्रतिष्ठित पद्मश्री पुरस्कारद्वारा सम्मान गर्ने भएको हो ।
गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतले विहीबार राति विभिन्न पुरस्कारहरूको घोषणा गरेको छ । पद्मश्री भारतको चौथो दर्जाको सम्मान हो । भारतरत्न, पद्मभूषण तथा पद्मविभूषणपछिको पद्मश्री पुरस्कार लिने गरिन्छ ।
‘सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी उनले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका छन्,’ भारतको प्रेस इन्फर्मेसन ब्युरोले आफ्नो आधिकारिक टि्वटरमा लेखेको छ ।
ब्युरोका अनुसार डा. रुइतको प्रविधिले मोतीविन्दुको शल्यक्रियाको शुल्क ९० प्रतिशतसम्मले कम भएको छ भने ३० भन्दा बढी देशहरूमा यसको प्रयोग भइरहेको छ । उनी हप्तामा दुई हजार पाँच सयजति बिरामीको उपचार गर्छन् भने पैसा तिर्न नसक्नेलाई निःशुल्क सेवा प्रदान गर्दछन् ।
उनले अन्धोपन हटाउन सस्तो प्रविधिको लेन्स र सल्यचिकित्सा प्रविधिको आबिस्कार गरेका थिए । उनले यसअघि सन् २००६ मा रामोन म्यागासेसे पुरस्कार पाएका छन् । जसलार्इ एसियाको नोवेल पुरस्कार पनि भनिन्छ ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४