काठमाडौँ । सुखी र सम्वृद्धिको अाश लिएर रोजगारीका लागि कुवेत पुगेका ३१ नेपालीले एक वर्षभित्र ज्यान गुमाएका छन् । कुवेतस्थित नेपाली दुतावासको तथ्यांक अनुसार सन् २०१७ मा त्यहाँ पुगेका ३१ नेपालीले ज्यान गुमाएका हुन् ।
दूतावासले जारी गरेको विज्ञप्तिमा त्यहाँ ज्यान गुमाएकाको शव नेपाल पठाउनका लागि दुतावासले सहयोग पुरार्इ रहेको छ । यसरी एक वर्षको अवधीमा मृत्यु हुनेमा १५ पुरुष र १६ महिला रहेको दूतावासले जनाएको छ । ती मृतकको क्षतीपूर्ती, वीमावापतको रकम र पाउनुपर्ने तलब उपलब्ध गराउन सम्बन्धीत कम्पनीसँग दुतावासले कानुनी लडाइ लडिरहेको जनाको छ ।
यसैबीच गत वर्ष दूतावासले त्यहाँको सरकार र कम्पनीसँग कानुनी लडाइ“ लडी मृतक नेपालीका लागि सवा पाँच करोड बढी क्षतिपूर्तिसमेत दिलाएको छ ।
दूतावासले ५ करोड २६ लाख ४३ हजार रुपैयाँ मृतकका आफन्तलाई क्षतिपूर्ति स्वरूप उपलब्ध गराउन नेपाल पठाएको जनाएको छ । त्यस्तै सन् २०१७ मा १५५ महिलालाई कुवेतबाट उद्धार गरिएको छ । रोजगारीका लागि विभिन्न बाटोबाट कुवेत पुगेका, त्यहाँ अलपत्र र समस्यामा परेका ती महिलालाई उद्दार गरी नेपाल पठाएको दुतावासले जनाएको छ ।
दूतावासले कुवेतको जेलमा रहेका नेपालीको उद्धारका लागि कानुनी लडाइ“ लडिरहेको छ । गत वर्ष कुवेतका जेलमा रहेका १८ नेपालीलाई माफी दिलाउन आफू सफल भएको दूतावासले जनाएको छ । जसमध्ये ६ नेपाली फर्किसकेका छन् । १२ जना नेपालीको सजाय कम भएको छ । उनीहरूसमेत सो सजाय काटेर नेपाल फर्कने व्यवस्था दूतावासले मिलाउने जनाएको छ । हाल कुवेतका विभिन्न कारगारमा ७० नेपाली छन् ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४