आगामी फागुन १४ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने मिति घोषणा गरी आवश्यक तयारी तीब्रताका साथ गरिरहेको छ । यही क्रममा विभिन्न विद्यार्थी संगठनहरुले पनि आफ्नो तयारीलाई तीब्रता दिएका छन । यसअघिको स्ववियुमा एक नम्बर संगठनको रुपमा स्थापित भएको अनेरास्ववियु यस अभियानमा पनि अग्रमोर्चामा देखिएको छ । अनेरास्ववियुले केही क्याम्पसमा उम्मेदबार समेत तय गरिसकेको छ । यसै सन्दर्भमा आजको न्युजले स्ववियु काउन्सिलका सभापति समेत रहनु भएका अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलासँगे गरेको कुराकानी ।
निर्धारित मितिमै स्ववियुको निर्वाचन हुन्छ ?
–आगामी फागुन १४ गते स्ववियु निर्वाचन हुनेमा कुनै शंका र दुबिधा छैन । त्रिभुवन विश्वविद्यालयले देशभरका क्याम्पसमा स्ववियु निर्वाचन गर्न दृढताका साथ तयारी गरिरहेको छ । विद्यार्थी संगठनहरु पनि आन्तरिक रुपमा निर्वाचनको तयारीमा लागिरहेका छन जसले निर्वाचन हुन्छ भन्ने प्रष्ट संकेत गर्दछ । तथापी बुधबार केही विद्यार्थी संगठनको नाममा विभिन्न माग राखी क्याम्पसरुमा तालाबन्दी भएको खबर छ यसले केही शंका बढाए पनि क्रियाशिल विद्यार्थी संगठनहरु र त्रिवि दृढताका साथ स्ववियु निर्वाचनमा केन्द्रीत भैसकेकाले अब पछि हट्ने अवस्था छैन ।
केही विद्यार्थी संगठनले गरेको तालाबन्दीले स्ववियु निर्वाचन गर्न केही असर गर्दैन भन्न खोज्नु भएको हो ?
–स्ववियुको निर्वाचन गराउने दायित्व त्रिभुवन विश्वविद्यालयको हो । जसलाई साथ दिने भनेको कुलपति अर्थात वर्तमान सरकारका प्रधानमन्त्रीको पनि हो । २ वर्षमा गर्नुपर्ने निर्वाचन ८ वर्षदेखि हुन सकिरहेको छैन त्यसकारण अहिले पनि निर्वाचनको वातावरण तयार गर्न त्रिवि सक्षम भएन त्यो दुर्भाग्य हुनेछ । त्रिविले वातावरण तयार गर्ने कुरामा राज्यका तर्फबाट पनि आवश्यक सहयोग पुग्ने छ भने हामी विद्यार्थी संगठनहरु निर्वाचनमा सभभागी हुने छौँ । जो निर्वाचनमा सहभागी हुँदैनन् उनीहरुले आफूलाई विद्यार्थीबाट अनुमोदन गराउने अवसर गुमाउने छन । तसर्थ निर्वाचन गराउन हामी जुनसुकै ताकत देखाएर भए पनि अघि बढ्ने छौँ र तोकिएको मितिमै स्ववियुको निर्वाचन हुनेछ ।
बर्ताैलासँगकाे कुराकानी यहाँ हेर्न सकिन्छ ।
स्ववियु निर्वाचनका लागि अनेरास्ववियुको तयारी कस्तो छ ?
–यहाँले भनेजस्तै यसअघिको स्ववियु निर्वाचनमा अनेरास्ववियु पहिलो शक्तिको रुपमा उदाएको थियो । २२६ कलेजमा भएको स्ववियु र विद्यार्थी काउन्सिलको निर्वाचनमा अनेरास्ववियुको १०९ कलेजमा नेतृत्व स्थापित गरेको थियो भने अन्य कलेजहरुमा उपसभापति, सचिव लगायतका महत्वपूर्ण पदमा जित हाँसिल गरेको थियो । यो पटकको स्ववियु निर्वाचनमा त्रिविका ६० आंगिक क्याम्पस र चार सय भन्दा बढी सामूदायिक कलेजहरु मध्ये केही र संस्कृति विश्वविद्यालयका २९ भन्दा बढी कलेज मध्ये १३ भन्दा बढी कलेजहरुमा स्ववियुको निर्वाचन हुन्छ । यसरी हिसाब गर्दा चार सय बढी कलेजहरुमा स्ववियु निर्वाचन हुने अवस्था देखिन्छ । यी कलेजहरुमा हाम्रो विगतको हैसियत नविकरण हुने कुरामा कुनै शंका छैन हामी थप कलेजहरुमा विजय हाँसिल गर्ने तयारीमा लागेका छौँ । तयारीको कुरा गर्नुहुन्छ भने अनेरास्ववीयु नियमित रुपमा विद्यार्थीहरुको बीचमा रहेको छ केही साता अघि त्रिविले निर्वाचनको मिति घोषणा गरेपछि मात्र हामी कलेजहरुमा गएका हैनौँ । जनजीवीकाको मुद्दा, शैक्षिक मुद्दा, राष्ट्रियको मुद्दा लगायत बोक्ने कुरामा हामी अग्र मोर्चामा रहेर काम गरिरहेका छौँ । यही गतिलाई मात्रै हेर्ने हो भने पनि देशव्यापी रुपमा अनेरास्ववियु अब्बल संगठनको रुपमा विद्यार्थीहरुको बीचबाट अनुमोदन हुने कुरामा कुनै शंका छैन ।
अनेरास्ववीयुले उम्मेदवार छनौटको लागि कस्तो आधार तयार गरेको छ ?
–हामी त्रिभुवन विश्वविद्यालयले तयार गरेको बिधि र मापदण्डको आधारमै हाम्रो उम्मेदवारहरुको चयन हुनेछ । उम्मेदवार चयनको प्रक्रिया अघि बढी सकेको छ । आगामी फगुन १ गते मतदाता नामावली प्रकाशन हुन्छ । फागुन ३ गते भित्र अन्तिम नामावली प्रकाशन हुने कार्यक्रम रहेको छ । फागनु कै ४ र ५ गते उम्मेदवारी दर्ता र नामावली प्रकाशनको काम पनि हुने भएकाले विभिन्न कलेज र क्याम्पस कमिटीले स्वस्फूर्त रुपमा उम्मेदाबारी घोषणाको काम पनि सुरु गरीसक्नु भएको छ । केही दिनभित्रै हामी उम्मेदारको तय गर्ने छौँ । अहिले शंकरदेव क्याम्पसमा प्रकाश भुजेल, दमक र सानोठिमी क्याम्पसमा पनि उम्मेदबारको टुंगो लगोको छ । समग्रमा अनेरास्ववियुले फागुन १ गते देशव्यापी रुपमा उम्मेदवारको टुंगो लगाउने छ । अहिले अनेरास्ववियुका पदाधिकारी विशेष जिम्मेबारीसहित फिल्डमा खटिनु भएको छ ।

अन्तर्घातको चर्चा चलेको छ नि ?
–अनेरास्ववियुमा अहिले कुनै गुट छैन । हामी अहिले स्ववियु निर्वाचनमा केन्द्रीत भएका छौँ । उम्मेदबारको चयनमा क्षमता र कार्यशैलीलाई हेरेर गरिने छ त्यो पनि सहमतिको माध्यमबाट । अहिले हामी अधिकतम मत ल्याउने मिसनमा छौँ । यही क्रममा हाम्रो संगठनमा तपाईंले भनेको जस्तो अन्तर्घात गर्न अग्रसर भए भने हामी उनीहरुलाई मैदानबाट सकुशल फिर्ता हुन दिने छैनौ । हामीले राजनीतिक र सांगठनिक रुपमा अखिलकाविरुद्धमा गद्दारी गर्नेहरुलाई मैदानमै ठीक पार्ने छौँ ।
अन्य संगठन भन्दा अखिल अब्बल भन्ने आधार के ?
–सबैभन्दा पहिला स्वतन्त्र विद्यार्थी युनियन बचाउनका लागि अनेरास्ववियुले गरेको नेतृत्वदायी भूमिका सम्पूर्ण साथीहरुले बुझ्नु भएको छ । हाम्रै निरन्तरको दबाबको बलमा त्रिवि स्ववियुको निर्वाचनको तयारीमा जुटेको छ । अर्र्काे कुरा स्ववियुलाई गुण्डागर्दी र पैसाको खेलेमेलोबाट टाढा राख्नुपर्छ भनेर हामी लागिरहेको छौँ । यसैका लागि पनि हामीलाई मत दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ । स्ववियु मार्फत विद्यार्थीका हक हितका लागि अखिलले अग्रमोर्चामा रहेर काम गरेको छ । अर्को कुरा राष्ट्रियताको लागि हामीले गरेको आन्दोलन पनि एउटा महत्वपूर्ण पाटो हो । हामीले शैक्षिक ऋणका लागि विगतदेखि नै जसरी आवाज उठायो आज सरकारले त्यासलाई बजेटमार्फत सम्बोधन गरेको छ । यी सबै विषयका कारण पनि अनेरास्ववियु सबै विद्यार्थीको रोजाईमा पर्ने निश्चित छ । स्ववियुका लागि हाम्रो प्रतिस्पर्धी देखेको छैन यसपटक ।
उमेर हदको कारण केही प्रभाव पर्ने अवस्था छ ?
–अनेरास्ववियुको नेता कार्यकर्ता सबै संगठनका लागि काम गर्दै आउनु भएको छ । विगतमा पनि स्ववियुको फोरममा काम गर्नु भएका साथीहरुले यो उमेर हद नभएको भए हुन्थ्यो भन्ने आशय राख्नु स्वभाविक हो । तर स्ववियु नियमित गर्नका लागि हामीले सहमति गरेर निर्वाचनको तयारीमा जुटेका छौँ । हिजो उम्मेदवारीको आंकाक्षी साथीहरु पनि आज आफैँ अन्य साथीलाई उम्मेदबार बनाएर प्रचारमा खटिनु भएको छ । त्यसकारण यसको कुनै प्रभाव अनेरास्ववियुमा छैन ।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७३