नेकप एमालेका सचिव प्रदीप ज्ञवाली बौद्धिक नेताको रुपमा परिचत छन । ज्ञवाली अहिले गुल्मीको क्षेत्र नम्बर १ मा वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको साझा उम्मेदवार हुन । गुल्मीको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका ज्ञवाली पूर्वमन्त्री समेत हुन । राष्ट्रि राजनीतिमा स्थापित ज्ञवाली नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसँग तेस्रो पटक प्रतिस्पर्धा गर्दैछन । छ सस्तो प्रचारमा नरमाउने र जनताको विवेकमा विश्वास गर्ने ज्ञवालीसँग निर्वाचन क्षेत्रको घरदैलो अभियानकै क्रममा आजकोन्युजले गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।
चुनावी अभियान कसरी बढिरहेकोे छ ?
–हामी बढीभन्दा बढी जनताको बीचमा पुग्ने कसरतमा छौँ । वडास्तरमा कार्यक्रम गर्ने, जनता भएको ठाउँमा पुगेर भेट्ने काम गरिरहेका छौँ । यो अभियान प्रभावकारी भइरहेको छ । वामपन्थीको तालमेलले पनि जनतामा उत्साह देखिएको छ ।
जिल्लाका लागि तपाईँका मुख्य चुनावी मुद्धा के के हुन् ?
–हामी संविधानको कार्यान्वयनसँगै मुलुकुलाई आर्थिक विकास र समृद्धिको अभियानमा छौँ । त्यसै अवधारणाबमोजिम वाम गठबन्धनले साझा चुनावी घोषणापत्र पनि सार्वजनिक गरिसकेको छ । जिल्लाका लागि पनि हामीले अलग्गै प्रतिबद्धता सार्वजनिक गरेका छौँ । मैले मूलतः यहाँको पूर्वाधार, पर्यटन, कृषिमा आधुनिकीकरण, मानव संशासशनका क्षेत्रमा प्रतिबद्धता सार्वजनिक गरेको छु । पूर्वाधारतर्फ कालिगण्डकी करिडोररलाई राष्ट्रिय सकड सञ्जालसँग हुँदै चीन र भारतसँगको सडक सम्पर्क जोड्ने योजना छ । रेसुङ्गा विमानस्थललाई यसै वर्षदेखि परीक्षण उडानमा ल्याउने, एक वर्षभित्र प्रत्येक स्थानीय तहमा सडक पक्की गर्ने, रिडी रुदीबेनी वामी सडक पक्क (पिच) गर्ने, सालझण्डी तम्घास सडक पूरा गर्ने आदि छन् ।
रेसुङ्गा विमानस्थलको कुरा चलेको धेरै भयो, यसमा ढिलाइ हुनुको कारण के हो ?
–विकासका काममा पूर्वाग्रह नहुनुपर्ने हो तर २०७० को निर्वाचनमा नेपाली काँग्रेसले जितेपछि विमानस्थलको काम रोकिएको मात्र होइन छुट्याइएको ७/८ करोड रुपैयाँ बजेट पनि निकासा दिइएन । विकासमा काममा दलगत पूर्वाग्रह नगरौँ भन्ने मेरो भनाई हो । किनी यो सबै जिल्लावासीको लाभको विषय हो ।
तपाईँको सालिनता र बौद्धिकतामा प्रश्न देखिँदैन तर जिल्लामा कम समय दिएको भन्ने गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
–सांसद्को काम मूलत ? नीति र कानुन निर्माण नै हो । विकासका लागि पहल गर्ने हो । मैले विगतमा जितेर जाँदा त्यो भूमिका गरेँ । माओवादीको सशस्त्र युद्धलाई शान्ति प्रक्रियामा ल्याउन राजनीतिक तहको वार्तामा म विगतमा खटिएँ । सुडान घोटाला काण्डलाई खोतल्न पनि समय दिएँ । त्यस आधारमा जिल्लामा समय कम भएको हो तर मैले यहाँको विकासमा निरन्तर ध्यान दिएको छु । कालीगण्डकी करिडोर नेपालकै भाग्यनिर्माण गर्ने योजना हो । यो मैले नै शुरु गरेको हुँ । त्यस्तै राष्ट्रिय कफी अनुसन्धान केन्द् स्थापना, रुरु रेसुङ्गा विकास समिति स्थापना जस्ता काम गरेँ । म सस्तो प्रचार चाँही गर्दिनँ । जनताको विवेक र मायामा विश्वास गर्छु । २०७० सालमा भएका कमजोरीलाई सुधार्छु ।
वाम तालमेल त भएको छ तर यो निर्वाचनपछि पार्टी एकता होला र भन्ने प्रश्न आउँछ नि ?
–नेपालका एकीकृत कम्युनिष्ट पार्टीको स्थापना र त्यसको नेतृत्वमा आर्थिक सामाजिक रुपान्तरणको हाम्रो लक्ष्य पूरा हुनेछ । पार्टी एकताका लागि केही प्रश्नहरु बाँकी छन् । यसलाई हामी समीक्षा गर्दै जानेछौँ । इतिहासको समीक्षा गरेर भविष्यको बाटो तय गर्नेछौँ ।
एमालेको जबज र माओवादी केन्द्रको एक्काइशौँ शताब्दीको वैचारिक मिलन कसरी हुन्छ ?
–हामी साझा कार्यक्रम बनाएर जान्छौँ । निर्वाचनपछि वैचारिक र छलफल गर्न बाँकी विषय थाती राखेर एकता हुने गर्छाैँ । दूवै पार्टी माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै हिसात्मक राजनीतिकको अन्त्य, संविधानको कार्यान्वयनबाट समाजवाद र लोकतान्त्रिक प्रतिस्पर्धाको नीतिमा रहेकाले एमालेको जनताको बहुदलीय जनवाद र केन्द्रको एक्काइशौँ शताब्दीको जनवादबीच खासै भिन्नता छैन ।
नेपाली काँग्रेसका नेताहरुले त कम्युनिष्टको सरकार आए अधिनायकवाद आउँछ भन्दैछन् नि ?
–नेपाल कम्युनिष्ट पार्टीको जन्म नै राणा शासनको अन्त्यका लागि संघर्ष गर्ने लक्ष्यका साथ भएको थियो । त्यसपछि हामी निरंकुश पञ्चायत र राजतन्त्रविरोधी आन्दोलनमा सम्झौताहीनरुपमा लाग्यौँ । यस्तो शक्ति अलोकतान्त्रिक हुनै सक्दैन । पञ्चायतविरोधी आन्दोलनमा लाग्दा आफ्ना पार्टीका कतिपय नेताहरु डेड दसकसम्म जेलको सेलमा बस्न बाध्य थिए । हाम्रो यो दृढतालाई कमजोर नठान्न म आग्रह गर्दछु । मलाई दुःख त यसमा लाग्यो कि कम्युनिष्ट शासन आएमा रुन वा अन्तर्वार्ता पनि दिन पाइँदैन भन्ने काँग्रेसका नेताहरु के पढ्छन् ? म उहाँहरुलाई यस प्रकारको वैचारिक शून्यता र दरिद्रता प्रदर्शन नगर्न निःशुल्क सल्लाह दिन चाहान्छु । अहिले विश्वमा सबभन्दा बढी विदेशी लगानी भएका र कम्युनिष्ट शासन भएका मुलुकहरु चीन र भियतनाम हुन् । अनि नेपालमा कम्युनिष्टले जित्दा विदेशी नआउने भन्ने प्रश्नै आउँदैन । प्रस्तुतिः प्रकाश सिलवाल ।
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०७४