काठमाडौं । छन्दकवि काशीनाथ मिश्रितका दुई छन्द कविता संग्रहको एकैसाथ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच पूर्व मन्त्री एवं राजदूत निलाम्बर आचार्यले मिश्रितका ‘स्वर्णीम सपना’ र ‘मिश्रित तरङ्ग’ कविता संग्रहको लोकार्पण गरेका हुन् ।
कविता संग्रहको लोकार्पण पछि आचार्यले काशीनाथको लेखनीबाट आफू प्रभावित भएको बताए । ६ वर्ष अघि मिश्रितकै व्यङ्ग्य निबन्ध संग्रह ‘बोकाको मन’ विमोचन समारोहमा उपस्थित भई उहाँका बारेमा सुनेको र पढेको स्मरण आचार्यले गरे । शारीरिक रुपले प्रज्ञाचक्षु वा दृष्टि विहिन हुनु र दुर्गम गाउँमै बसोबास भएरै पनि नेपाली साहित्यमा निरन्तरको लेखन मार्फत योगदान दिनु सामान्य विषय नभएको उनले बताए ।
कार्यक्रममा डा. रमेश शुभेक्षुकले लोकार्पित दुई कृति माथि समीक्षा गरेका थिए । मिश्रितका कवितामा आफूले केही निराशा, केही असन्तोष, केही आवेगसँगै सुनौलो बिहानीको आशा पनि भेटेको उनले बताए । कार्यक्रममा मिश्रितका सहपाठी एवं शुभचिन्तकहरुले शुभकामना व्यक्त गर्दै पुस्तक भित्रका केही कविताहरु बाचन गरेर सुनाए । ‘स्वर्णीम सपना’ कविता संग्रहमा ३७ र ‘मिश्रित तरङ्ग’मा ३३ कविता संग्रहित छन् ।
कार्यक्रममा बोल्दै कवि मिश्रितलेः भाषण गर्न जानेको भए आफू नेता नै हुने भन्दै सो नजानेकाले आफ्नो विचार कविता तथा निबन्धजस्ता साहित्यबाट प्रकट गर्ने गरेको बताए । पुस्तक भुणिपुराण प्रकाशनले प्रकाशन गरेको हो । कवि मिश्रित जनकल्याण माध्यमिक विद्यालय, कालिगण्डकी – ५, फोक्सिङ्ग गुल्मिका नेपाली विषयका शिक्षक हुन् । मिश्रितका यस अघि ‘बोकाको मन’ व्यङ्ग्य निबन्ध संग्रह, दुर्भाग्य महाकाव्य, रक्सि खण्डकावय प्रकाशित भैसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१