रामहरि बजगाई
यतिवेला यो देशले एउटा बेमौसमको बाजाको बेसुर आवाज सुन्नु परिरहेको छ । जनताको सयौ बर्षको संघर्षबाट प्राप्त भएको गणतन्त्रबारे प्रश्न उठाउदै राजतन्त्रको वकालत गर्न थालिएको छ । सडकमा मात्रै होइन यस्तो निरर्थक बहस संसदमा समेत गर्न थालिएको छ । निरर्थक यस मानेमा कि संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको आजको संविधानले राजतन्त्र चिन्दैन र त्यसको अस्तीत्व स्वीकार गर्दैन । त्यसअर्थ हामी सबैलाई थाहा छ गणतन्त्रको विकल्पमा आजको संसदमा राजतन्त्रको वकालत गर्न सबिधानले नै बर्जित गरिएको छ । अब राजतन्त्रको पक्षमा वकालत गर्दै नव दास बन्न खुट्टा उचाली दासत्वको पगरी बाध्न कम्मर कसेर तम्सीएकाहरुले बुझ्नुपर्ने छ यो राजतन्त्र र गणतन्त्रको खेल कुनै केटाकेटीको खेल होइन । उनीहरुले राम्रोसंग बुझुन यो चिया चौतारीमा बसिवियालो गर्ने बिषय पनि होइन । आजको समयमा पनि वंश परम्परालाई सिरमा बोक्न तछाड मछाड गरिरहेकाहरुले चिसो दिमागले सोच्नुपर्ने कुरा के हो भने गणतन्त्र उनका महाराजले किस्तीमा राखेर दिएको उपहार होइन । यो त नेपाली जनताको सदियौको संघर्ष र बलिदानबाट प्राप्त भएको स्वतन्त्रता हो जसको कुनै मुल्य छैन । भलै त्यसको कार्यन्वयनमा कम्जोरी पक्कै भएका छन् तर त्यसको मतलव गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।
यदि दासहरुलाई राजतन्त्र चाहिएकै भए गणतन्त्रमा प्राप्त भएका पद प्रतिष्ठालाई छोडेर संघर्षमा लागे भइहाल्यो । जसरी प्रजातन्त्र प्राप्त गर्नका लागि राजाको संसदमा सदस्य बनेर होइन राजाको जेलमा बसेर गणतन्त्रका लागि जनताले संघर्ष गरे । एक दिन होइन दुइ दिन होइन बर्षौ यो व्यवस्थाका लागि गणतन्त्रपक्षियले आफ्नो जिवन कालकोठरीमा होमे । संसदमा गणतन्त्रलाई लल्कार्दै राजतन्त्र चाहियो भनिरहेकाहरु के आफ्ना सबै सेवा सुविधा त्याग गर्दै संघर्ष गर्न तयार हो ? उनीरुलाई साच्चिकै इच्छा लागेको हो भने संघर्षमा जाउन नत्र गणतन्त्रको सेवा सुविधामा सांसद, मन्त्री बनिरहने अनि राजतन्त्रको पक्षमा नारा ओराल्ने सुविधा छैन । भुलबस संसदमा पुगेर मनमा लागेको र मुखमा आएको सबै बोलिरहेका सामान्य मान्छे समेत बन्न नसकीरहेका केही सांसदहरु जो जसमाथी पनि जाइलागीहाल्छन उनहरुले बुझुन गणतन्त्र उनीहरुले भने जस्तो कसैको निगाहामा प्राप्त भएको बस्तु होइन । यसका लागि हजारौको रगत र लाखौको पसिना सिंचित भएको छ । आजका प्रधानमन्त्रीले मात्रै साढे एक दसक बढी यो व्यवस्थाका लागि नव दासहरुका महाराजको कालकोठरीको बास बस्नुभएको हो भन्ने हेक्का हुनुपर्यो ।
हामीले माथीनै भनिसक्यौ गणतन्त्रको कार्यन्वयन गर्दै गर्दा केही शासकिय र व्यवस्थापकिय त्रुटीहरु पक्कै भएका छन् । त्यस्ता त्रुटी गणतन्त्रको पक्षधर रहेको राजनीतिक नेतृत्वका कारणबाट मात्रै भएका होइनन् । यसका लागि स्थाई सरकारको रुपमा रहेको कर्मचारीतन्त्र, खुल्ला बजारको प्रयोग गर्दै नाफामा होमिएका नाफाखोर व्यापारी र समग्रमा हाम्रो समाजको पनि दोष छ । व्यवस्थापकिय कम्जोरीहरुलाई सुधार गर्दै जानुपर्छ र जनताको आजको माग र अस्तुष्टी पनि यही हो । केही व्यवस्थापकिय कम्जोरीलाई आधार बनाएर यो व्यवस्था बिरुद्ध बिष बमन गरिरहेकाहरुलाई हेक्का रहोस असन्तुष्ट मानिसहरुले एक दिन पूर्व राजाको पक्षमा सडकमा रयाली निकाल्दैमा व्यवस्था परिवर्तन हुने होइन । जनताको खुन पसिना सिन्चीएर युगौको संघर्षबाट प्रप्त भएको स्वतन्त्रता यति सजिलै गुम्दैन र नेपाली जनताले गुम्न दिने छैनन् ।
यति भनिरहदा साच्चिकै राजतन्त्र रहेका बेला यो देशमा कायाकल्प नै भइरहेको थियो ? के त्यस्तो कायकल्पको रफ्तारलाई गणतन्त्र आएरै रोकिएको हो ? त्यस्तो कदावी होइन, साढे दुई सय भन्दा बढी समय नेपालमा यो या त्यो ढंगको राजतन्त्र रह्यो । अस्ती २०६३ साल सम्म नेपालमा राजतन्त्र थियो । जम्मा १८ बर्ष भयो नेपाली जनताका छोरा छोरीले यो देशको राजनैतिक आकाशामा स्वतन्त्रतापूर्वक स्वाँस फेर्न पाएको । यदि राजाको शासनकालमा कायकल्पै भएको थियो भने १८ बर्ष अघि सम्म यो देशको अबस्था त्यस्तो किन रह्यो ? हामी युरोप अमेरिकाको मात्रै कुरा नगरौ नजिकैका अरब देशहरुले पनि बर्षौ अघि आफ्नो जिवनमा कायकल्प गरिसकेका थिए । राजालाई कस्ले रोकेको थियो देशलाई विकासको पथमा पुरयाउनका लागि । के अपराध, हत्या हिंसा आजको दलिय व्यवस्थामा मात्रै भएका हुन ? के भ्रष्टाचार यो १८ बर्षको अबधीमा मात्रै भएको हो ? त्यस्तो कदावी होइन ।
हत्या हिंसा, अपराध र भ्रष्टाचारका श्रृखला आजको भन्दा कैयन गुणा डरलाग्दो गरि त्यो बेला भएका थिए । लोकतन्त्र यस्तो व्यवस्था हो जहाँ गल्ती भएका छन भने कारवाही पनि हुन्छ । कम्तीमा कारवाहीका लागि संस्था र संरचनाहरु बनाइन्छन् । आफैलाई कारवाही गर्ने संस्थाहरु गणतन्त्रमा मात्रै बन्ने हुन । कुनैबेला कांग्रेसमा प्रभावसाली मानिएका खुमबहादुर खड्का देखि बालकृष्ण खाण सम्म आफुले गरेको गल्तीको भागिदार भए । एमाले नेता टोपबहादुर रायमाझी देखि माओवादी नेता कृष्णबहादुर महरा सम्मले आफ्नो गल्तीको सजाय भोग्नु पर्यो । यो समयको फरक मात्रै हो जुनसुकै पार्टीका र जतिसुकै शक्तिशालीहरुले पनि गल्ती गरेको भए सजाय भोग्नुपर्छ । त्यो लोकतन्त्रमा मात्रै सम्भव छ । राजतन्त्रकालमा त राजा र उनका नजिककाहरुले कहाँ, कति खाए के गरे त्यसको भनक सम्म नेपाली जनतालाई हुने कुरा भएन । राजपरिवारका प्रभावशाली सदस्यको सेयर बेगर व्यापार व्यवसाय समेत गर्न नपाईने त्यो बेला राज्यकोषको कुन हद सम्मको दुरुपयोग गरियो होला सम्झीदा पनि कहाली लाग्छ ।
आफ्नो स्वतन्त्रताको आवाज उठाए बापत कैयन बस्तीहरुको कत्ल्याम भएका घटना सायद आजका भुइफुट्टा दासहरुले सम्झीन चाहेका छैनन होला । पंचायती कालारात्रीमा स्वतन्त्रताको पक्षमा बोलेकै भरमा कति कत्ल्याम गरियो इतिहासकारहरुले किताव लेखेकै छन् । धनकुटाको छिन्ताङ देखि सिन्धुपाल्चोकको पिश्कर सम्मका बस्तीमा चलाइएको कत्ल्यामको हिसाव किताव त्यतिबेलाका शासकहरुका शाखा सन्तान सम्मले दिनुपर्ने समय पनि आउन सक्छ, यदि जनताको स्वतन्त्रता हरण गर्न टाउको उठाइरहने हो भने । त्यो बेला भएका बलात्कारका घटना देखि हत्याकाण्डहरुको हिसाव किताव कस्ले दिने हो ? सबैभन्दा ठुलो कुरा राजाको शासन यो देशमा रहेका बेला कहाँ के भयो भन्ने कुराको हेक्का सम्म जनतालाई थिएन । किनभने आजको जस्तो आम सञ्चारको बिकास त्यो बेला भएको थिएन । पढ्न र रेडियो सुन्न समेत महाराज र उनका छोटे राजाहरुको अनुमति लिनुपर्ने कालारात्री युगमा प्रवेश गर्न नेपाली जनता कहिल्यै तयार छैनन । आफु र आफु जस्तै जनताका छोरा छोरीमाथि बिश्वास नगर्ने, सधै रैति बन्न चाहने केही अराजक झुण्ड बाहेक कसैका लागि त्यो बंशवादको निरन्तरता स्वीकार्य छैन ।
पृथ्वीनारायण शाहले यो देशको एकिकरणको नेतृत्व गर्नुभएको थियो र उहाँलाई यो राष्टूको एकिकणको नेताको रुपमा सधै नेपालीले सम्मान दिनेछन तर त्यसको बदलामा सबै सन्तान दर सन्तानहरुले नेपाली जनतामाथी शासन गर्ने अधिकार छैन । किनकि देश राजाहरुको मात्रै होइन जनताको पनि हो । एकिकरणमै पनि पृथ्वीनारायण शाहको सारथीका रुपमा नेपाली जनतानै सहभागी भएका हुन । जनताको आन्दोलन सामु घुँडा टेकेर राजदरवार खाली गरेका ज्ञानेन्द्र शाहलाई स सम्मान आफ्नै देशमा बस्न, बन्द व्यापार गर्न र यो व्यवस्था बमोजिम राजनीतिक अधिकारको पनि प्रयोग गर्ने सबै अधिकार उपलब्ध छ ।
यदि उनलाई आफु नभएकैले देश बिग्रन लाग्यो भन्ने चिन्ताले सताएको भए राजनीतिक रुपमा जनताका बिचमा जान र जनताको समर्थन मार्फत मत हासिल गरेर देशको सेवा गरे भइहाल्यो । त्यसो गर्ने स्वतन्त्रता संविधानले दिएको छ र हाम्रा प्रधानमन्त्रीले पनि पटक पटक त्यस्तो सोझो र सजिलो बाटोबाट आफ्नो महत्वकाँक्षा पुरा गर्न आग्रह गरिनै रहनुभएको छ । विश्वको शक्तिशाली देश अमेरिकामा समेत जनताको छोरो जनताको मतद्धारा राष्टूपति बनेर सेवा गरिनै रहेका छन् । त्यस्तो सहज बाटो आफुसंग उपलब्ध हुँदा हुदै जनताको बलिदानबाट प्राप्त गणतन्त्र मासेर फेरि राजा हुन्छु मात्रै होइन यो देशलाई आफ्नो निजी सम्पति जस्तो गरि म पछि मेरा दर सन्तानले पनि तिमिहरुलाई रैति बनाउने छन भन्ने उनको आसय र चाहना हो भने त्यो कहिल्यै पुरा हुने छैन ।
बरु त्यस्तो कुत्सित मनसाय राख्ने हो भने उनले जनताका गंभिर प्रश्नहरुको सामना गर्नुपर्ने छ । सबैभन्दा पहिले त दरवार हत्याकाण्डमा उनीमाथी सोझिएको शंकाको सुइको छानविनमा सहयोग गर्नु पर्ने होला । यो कुरा देश दुनियाँलाई थाहै छ कि, तुलनात्मक रुपमा जनताको स्वतन्त्रताको पक्षमा रहेका तत्कालीन राजा बिरेन्द्रको वंशनासको घटनाको सम्पूर्ण आशंका नेपाली जनताले उनीमाथी गरिरहेका छन भन्ने कुरा उनले बिर्सन हुँदैन । कहालीलाग्दो त्यो हत्याकाण्डमा छानी छानी बिरेन्द्रको परिवारको हत्या हुने, हत्याकाण्ड लगत्तै संसारले स्वतन्त्र छानविन माग गरिरहेका बेला जनताको आँखामा छारो हाल्न छानविन समितिको नाटक गर्दै मृत भइसकेका दिपेन्द्रको टाउकोमा दोष थोपर्ने काम भयो । त्यतिमात्रै होइन स्वतन्त्र अन्तराष्टिूय छानविनको माग भइरहेकै बेला घटनास्थल तोडफोड गर्न लगाएर छानविनका सबै आधारहरु मेटाउने हतारो गरेको आरोप उनीमाथी छ । यदि जनताको रगत पसिनाबाट प्राप्त भएको व्यवस्था बिरुद्ध यस्तै बिष बमन गर्नेहो भने त्यो हत्याकाण्डमा जनताले उठाइरहेका सबै प्रश्नको सामना गर्ने मात्रै होइन स्वतन्त्र छानवीनको दायरामा आउनुपर्ने हुन्छ । यसतर्फ पूर्व राजा ज्ञानेन्द्रमात्रै होइन उनको दास बन्न चार हात उफ्रिरहेकाहरुले पनि सोची सम्झी आफ्ना कदम चालुन ।
अन्तयमा यही समयमा यस्तो निरर्थक बहस किन गरिएको छ भन्ने तर्फ पनि हामीले मनन गरौ । केहिबर्ष अघि नेपालले बेहोरेको महाभुकम्पको पिडाका बिच छिमेकीले लगाएको चर्को नाकाबन्दीको डटेर सामना गर्ने प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा आज सरकार चलिरहेको छ । त्यस पछि ओलीकै नेतृत्वमा नेपालका कम्युनिष्टहरुलाई एकिकरण गर्ने ऐतिहासिक कदम चालिनु मात्रै होइन देशलाई स्वाभिमान सहित आफ्नै खुट्टामा उभिने अबस्थाको सिलन्यास गर्ने काम पनि ओलीबाट भयो । त्यसबाट तिल्मीलाएकाहरुले त्यो एकता भंग गराउने मात्रै काम गरेनन नेपालमा अस्थीरता मच्चाइराख्न षडयन्त्र गरिरहे । फेरि कांग्रेस सगको सहकार्यमा दुइ बलिया शक्तिको सहमतीमा केपी ओली प्रधानमन्त्री भएको र त्यसबाट नेपालमा कम्तीमा स्थाइत्वको अभास भएको बिषय देशको अहित चाहाने देश भित्रका र बाहिरका शक्तिहरुलाई मन परिरहेको छैन । ओलीको राष्टूभक्ती र सुखी नेपाली सम्बृद्ध नेपालको अभियानबाट तिल्मीलाएकाहरुले यो राजतन्त्रको नयाँ कार्ड फयाकेका छन् । कम्तीमा गणतन्त्र पक्षधरहरुले यो कुरा बुझुन जनताको स्वतन्त्रता रहीरहे फेरि सुर्धिदै जादा सत्ताको अबसर जस्लाई पनि आउन सक्छ किनकि यो लोकतन्त्र हो । यहाँ राम्रो गर्नेलाई जनताले आफनो सेवक बनाउनेनै छन् । तर केपी ओली संग सत्ताको बदला लिन गणतन्त्रको बिकल्प खोजियो भने कम्तीमा फेरि स्वतन्त्रता र स्वाभिमान सहितको सत्तारोहण जिवनमा कहिल्यै प्राप्त नहोला । र जनताले पनि यो कुरा बुझ्न आबस्यक छ कि स्वतन्त्रता खोसिएको समाजको कुनै अस्तित्व हुँदैन । त्यसैले गणतन्त्रको विकल्प गणतन्त्र मात्रै हो राजतन्त्र होइन ।
लेखक नेकपा (एमाले) बागमती प्रदेश कमिटीका सदस्य हुन ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१