काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १८औ बार्षिक उत्सव मनाएको छ । कोटेश्वरको महादेवस्थानमा रहेको लोटस पार्टी प्यालेसमा मनाइएको १८औ स्थापना दिवसमा संस्थाले आफ्ना उत्कृष्ट पाँच जना सदस्यहरुलाई सम्मान समेत गरेको थियो । उत्कृष्ट एवं दिगो सेवाका लागि सुयोग्य भन्ने मूल मर्म सहित २०६४ साल फागुन २१ गते कोटेश्वरका स्थानीय २७ जना व्यक्तिहरुको सहभागितामा स्थापना गरिएको यो संस्थाले आफ्ना गौरवपूर्ण १७ बसन्त पार गरेको छ ।

१८औ स्थापना दिवसमा आयोजित सुयोग्य सम्मान कार्यक्रममा स्थापनाकाल देखि संस्थाका सदस्य रहेका ५ जनालाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा शिवकुमार लिम्वु, शान्ती केसी, मेनुकादेवी कार्की, नयन कुमार राई र नदीशोभा राई रहेका छन् । उनीहरुलाई दोसल्ला, सम्मानपत्र र मायाको चिनो उपलब्ध गराई सम्मान गरिएको छ ।

१८औ स्थापना दिवस तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेकी नेतृ सुजिता शाक्यले सुयोग्यले साच्चिकै सुयोग्य काम गरेकोले सहकारीको यस्तो संकटपूर्ण घडिमा पनि अटल रहेको बताउनु भयो । उहाले सुयोग्यका काम कारवाहीबाट आफु उत्साहित भएको भन्दै आजैबाट सुयोग्य परिवारसंग जोडिएको घोषणा गर्नुभयो । केही सिमित सहकारीहरुको गलत कार्यका कारण सिंगो सहकारीलाई बदनाम गर्नु उचित नभएको भन्दै सुयोग्य जस्ता राम्रा र बिधिमा आधारित संस्थाहरु पनि यो देशमा रहेको बताउदै नेतृ शाक्यले त्यस्ता राम्रा संस्थाहरु मार्फत मुलुकको युवा पलायन रोक्न सकिने जिकिर गर्नुभयो । केही प्रतिनिधि संस्थाहरुको बदमासीलाई सिंगै सहकारी क्षेत्रको बदमासीको रुपमा नबुझ्न आग्रह गर्दै समुदायमा आधारित सुयोग्य जस्तै सहकारीले सम्बृद्धिको ढोका उर्घार्ने नेतृ शाक्यको भनाई थियो ।

सुयोग्यको १८औ स्थापना दिवसको कार्यक्रममा राष्टिय सहकारी महासंघका निवर्तमान महाप्रबन्धक तथा सुयोग्यका प्रमुख सल्लाहकार चित्राकुमारी थाम्सुहाङ सुब्बाले २७ जना व्यक्तिबाट २ लाख ७२ हजार रपैयाँ संकलन गरि २ कोठा भाडामा लिएर सेवा सुरु गरेको सुयोग्य आज १६सय ५८ सदस्य, करोडौको कारोवार र आफ्नै भवनमा प्रवेश गरेको क्षणलाई आफुले साच्चिकै गर्ब महसुस गरिरहेको बताउनु भयो । यो सबै सदस्यको संस्था भएकैले आजको अबस्थामा आइपुगेको उहाँको भनाई थियो ।

सहकारी भन्ने वितिकै नाक खुम्च्याउनुपर्ने अवस्था रहेको आजको दिनमा पनि सुयोग्य निर्धक्क सेवा विस्तार गरिरहेको सुनाउन पाउँदा आफुहरुले सत्यबाटो हिडेको अनुभूति भइरहेको सुब्बाको भनाई थियो । उहाँले अब प्रत्येक बर्ष स्थापना दिवस मनाउदा आफ्ना उत्कृष्ट ५ सदस्यलाई सम्मान गर्दै जाने समेत घोषणा गर्नुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले कार्यक्रममा हाल सम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने समारोहको अध्यक्षता संस्थाका कार्यवाहक अध्यक्ष टेकबहादुर लिम्वुले गर्नुभएको थियो ।


प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१