काठमाडौँ । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यावहारिक ज्ञान’ नामक पुस्तक विमोचन गरिएको छ ।
महासंघको ३२औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, महासंघका पूर्व अध्यक्षद्वय केशव बडाल र दीपकप्रकाश बाँस्कोटाले पुस्तक सार्वजनिक गरे ।
पुस्तक विमोचनका क्रममा पूर्वअध्यक्ष बडालले पुस्तक सहकारीकर्मीका लागि अत्यन्तै उपयोगी रहेको बताए । महाप्रबन्धक सुब्बाले छोटो समयमै पुस्तक तयार गरिएको जानकारी गराउँदै सहकारी क्षेत्रमा आवश्यक थप सामग्री तयार पार्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले भनिन्, ‘सहकारीमा सैद्धान्तिक विषयमा मात्र बहस हुने गरेको छ । व्यावहारिक पक्षमा बहसको अभाव भएकाले मैले यो पुस्तकमा व्यावहारिक पक्ष समेट्न प्रयास गरेकी छु ।’ महाप्रबन्धक सुब्बाको यो दोस्रो पुस्तक हो । यसअघि उनले ‘सहकारीमा २५ वर्षः भोगाइ र अनुभव’ शीर्षकको पुस्तक प्रकाशित गरेकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१