काठमाडौँ । राज्यको संवेदनशील निकायका रूपमा रहेको राजस्व अनुसन्धान विभागमा जान यतिबेला दुई सहसचिवहरू मदन दाहाल र सुमन दाहालबीच तीव्र प्रतिस्पर्धा छ । सहसचिवहरूका लागि सबैभन्दा आर्कषक अड्डाका रूपमा रहेको राजस्व अनुसन्धान विभागमा जान दुई दाहाल बिच अस्वस्थ प्रतिस्पर्धा भएको हो । प्रधानमन्त्री कार्यालय मातहत रहने यो अड्डाले सिधै प्रधानमन्त्रीलाई रिर्पोटिङ गरे पुग्छ । हेर्दा सहसचिवको तह भए पनि शक्ति र स्राेतका हिसाबले निकै बलियो निकाय भएकाले यहाँ जान सहसचिवहरू लालायित हुने गरेका छन् । यतिबेला पनि त्यहाँ जान सहसचिवहरूबीच तीव्र लबिइङ भइहेको छ । राजनीतिक र व्यापारिक समूहमार्फत् त्यहाँ पुग्न धेरै सहससचिवले आकांक्षा देखाए पनि दाहालहरू दुवै जना झापाका भएकाले यसअघिसम्म उनीहरूमध्ये एक जना त्यहाँ जाने अनुमान गरिएको थियो । तर, दुवै दाहालको पृष्ठभूमि र उनीहरूलाई बोकिरहेको स्वार्थ समूहका कारण प्रधानमन्त्री केपी शर्मा ओली उनीहरूभन्दा अर्को पात्रको खोजी गरिरहेको बुझिएको छ ।
त्यसो त दुई दाहालहरू झापाका भएकै कारण प्रधानमन्त्री केपी ओलीकहाँ सजिलै पुग्ने र निरन्तर आकर्षक निकायमा रजगज गरिरहेका पात्र हुन् । उनीहरूमध्ये मदन दाहाल यसअघि नै राजस्व अनुसन्धान विभागको महानिर्देशक भइसकेका पात्र हुन् । राजस्व अनुसन्धान विभागको मात्रै महानिर्देशक भएका छैनन्, उनले आफ्नो जागिरे करिअरमा निरन्तर आकर्षक मानिएका अड्डाहरूमा गोलचक्कर लगाएका छन् । निकै भ्रष्ट पृष्ठिभूमिका यी पात्र १३ वर्षसम्म राजस्वमै रजगज गरेका पात्र हुन् । जसमध्ये १२ वर्ष त उनले उपसचिवकै रूपमा राजस्वमा रजगज गरेका थिए । १२ वर्ष उपसचिवको रूपमा राजस्वमा बिताएका मदन दाहाल सहसचिव हुनेबित्तिकै राजस्व अनुसन्धानकै महानिर्देशक हुन पाउने भाग्यमानीमध्येका एक हुन् । अकुत सम्पत्ति आर्जन गरेका दाहाल विवादित व्यापारिक समूहको स्वार्थ समूहमा सधैँ हिमचिम गरिरहने पात्र हुन् ।
मदन दाहालले यत्तिका वर्ष राजस्वमा बिताएर जोडेको अकुत सम्पत्ति उनका नजिकका व्यापारिक समूहले व्यवस्थापन गर्ने गरेका छन् । यस पटक मदन दाहाललाई राजस्वमा लैजान प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले जोडबल गरिरहेका छन् । व्यावसायिक हिसाबले मात्रै होइन, पारिवारिक रूपमा पनि दाहाल निकै विवादित पात्र मानिन्छन् । उनले श्रीमती हुँदाहुँदै आफूभन्दा निकै कम उमेरकी महिलालाई दोस्रो श्रीमतीका रूपमा राखेका छन् । खतिवडाले उनलाई त्यहाँ पठाउनुका पछाडि पनि व्यापारिक समूहको स्वार्थ देखिन्छ । खतिवडा तिनै पात्र हुन्, जो अर्थशास्त्रको विज्ञ भनिए पनि निरन्तर खास–खास व्यापारिक समूहको स्वार्थमा लागेर राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप खेप्ने गरेका छन् । खासगरी उनी राष्ट्र बैंकको गर्भनर भएदेखि मुलुकको अर्थतन्त्र ओरालो लागेको आर्थिक विश्लेषकहरूले आरोप लगाउने गरेका छन् ।
यता राजस्व जान खुट्टा उचालेर बसेका सुमन दाहाल पनि झापाकै हुन् । झापा स्थायी घर भएका उनले आफू राजस्वमा जाँदै गरेको भन्दै व्यापारीहरूसँग जानुअघि नै उठबस गरिरहेको स्रोत बताउँछ । खासगरी सुमन दाहाललाई विवादित पृष्ठभूमिका व्यापारी मोती दुगडलगायत व्यापारीहरूले बोकिरहेको बुझिएको छ । दुगड लगायतकाहरूले सुमन दाहाललाई राजस्वमा लैजान करोडौँ बुझाएको बताउने गरेको स्रोतले बताएको छ । सुमन दाहाल पनि प्रधानमन्त्री केपी ओलीको गृहजिल्लाको भन्दै यसअघि निरन्तर आकर्षक ठाउँमा घुम्ने कर्मचारीमध्ये एक हुन् । यसअघि भन्सार विभागको महानिर्देशक भइसकेका सुमन दाहाल ठुला करदाता कार्यालयको प्रमुख हुदै अर्थका आकर्षक अड्डामा बिताउने भाग्यमानी कर्मचारीभित्र पर्छन् । आजभोलि सामान्य प्रशासन मन्त्रालयमा रहेका सुमन दाहाल पनि अकुत आर्जन गर्नेमध्येका एक पात्र हुन् ।
गम्भीर राजस्व छली, विदेशी मुद्रा अपचलन र चोरी पैठारीको नियन्त्रण जस्ता संवेदनशील काम गर्ने भएकाले यसलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालयबाट झिकेर प्रधानमन्त्री कार्यालय मातहत राखेका थिए । सुशासनमा मुलुकलाई डोहो¥याउने प्रधानमन्त्री केपी ओलीको योजनामा यो निकाय निकै सहयोगी बन्ने भए पनि दुई दाहालहरूबाट यो सम्भव नभएको निष्कर्षमा प्रधानमन्त्री पुगिसकेका छन् । त्यसैले उनीहरूको साटो कुनै तेस्रो पात्रको खोजी तीव्र बनाइएको छ । सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय लिनेछ ।
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१