काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले राजस्व चुहावट नियन्त्रणसम्बन्धी अनुसन्धान गर्नु नै विभागको मुख्य काम भएकाले यसबाट कोही पनि तर्सिनुनपर्ने बताएका छन् ।
उनले राजस्व चुहावट गर्ने जोकोहीलाई विभागले अनुसन्धान र छानबिनको दायरामा ल्याउने भन्दै कानुनबमोजिम व्यवसाय गर्ने कोही पनि तर्सिनुनपर्ने बताएका हुन् ।
विभागले गर्ने अनुसन्धान, तहकिकात र छानबिन कसैलाई पूर्वाग्रह साँधेर नभई नियमित जिम्मेवारीअन्तर्गत रहेको बताउँदै यसबाट त्रसित भए भन्नु राजस्व चुहावट नियन्त्रणमा बाधा पुर्याउने षड्यन्त्र भएको विभागका महानिर्देशक बुढाको भनाइ छ । विभागको बदनामी गरेर राजस्व छलीबाट उन्मुक्ति नपाइने प्रष्ट गर्दै महानिर्देशक बुढाले भने, 'कमजाेर बनाउन खोजिए पनि विभाग आफ्नो उद्देश्यमा अटल र अविचलित रूपमा अघि बढ्छ ।' स्वच्छ छवि र विवादरहित प्रशासकको पृष्ठभूमि भएका राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढासँग आजको न्युजले विभागको कामकारबाहीबारे कुराकानी गरेको छ :
राजस्व अनुसन्धान विभागले निर्वाह गर्ने भूमिका के हो ?
राजस्व अनुसन्धान विभागले मुख्य रूपमा तीन वटा रणनीतिमा रहेर काम गर्ने गर्छ । सबैभन्दा पहिले हामीले प्रबर्द्धनात्मक काम गर्ने गर्छौं । त्यो भनेको विभागलाई जे जिम्मेवारी पूरा गर्नु भनेर राज्यको तर्फबाट कानुन रबमोजिम तोकिएको छ, ती जिम्मेवारीका बारेमा हामी व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्ने गर्छौं । राजस्व चुहावटका क्षेत्र के के हुन्, के कसुर गरे राजस्व चुहावट गरेको मानिन्छ, खासगरी राजस्व चुहावट नियन्त्रणका लागि शिक्षित बनाउने काम हाम्रो पहिलो काम हो । त्यसका साथै राजस्व चुहावट नियन्त्रणसम्बन्धी राज्यका बिभिन्न निकायहरू छन्, ती सबै निकायसँग समन्वय गर्ने काम पनि यही राजस्व अनुसन्धान विभागको हो । भन्सारको हिसाबले भन्सार विभाग, करको हिसाबले आन्तरिक राजस्व विभाग, सम्पति सुद्धिकरण विभाग, स्वयं यो राजस्व अनुसन्धान विभागलगायत यसमाथि पनि अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय जो छन्, ती सबै निकायहरूसँग समन्वयको काम हाम्रो हो । राज्यले लिएको राजस्व संकलनको लक्ष्य भेटाउन ती सबै निकायहरूलाई आफूले देखेको कुरा बताउने र सरोकारवालाहरूलाई शिक्षित पनि बनाउने गरेका छौँ । त्यसमा पनि खासगरी उद्याेगी व्यवसायीहरूसँग साक्षात्कार गर्ने जानकारी दिने जस्ता काम पनि यसमा पर्ने भए ।
यस्तै विभागको दोस्राे महत्त्वपूर्ण जिम्मेवारी भनेको नियमन र कानुनको परिपालना गराउने हो । यसका लागि छड्के जाँच गर्ने, अनुगमन गर्ने, खास गरी आचारसंहिताको परिपालना गराउने, करेक्सन गराउने, भन्सारबाट छुटेका गाडीहरू प्रज्ञापनपत्र पास भएर आएका हुन कि होइनन् त्यसबारेमा जाँचबुझ गर्ने, यदि पास भएका होइनन् भने गाडी समात्ने, अनुसन्धान गर्ने र राजस्व तिराउने काम हाम्रो हुन्छ । यसमा विभागले आफूले निर्वाह गर्ने सबै कामहरूका सन्दर्भमा भएका गरेका सबै नियम कानुनको परिपालना गराउने काम गर्ने गर्छ ।
र अर्को महत्पूर्ण काम भनेको हामी राजस्व छलीबारे सूचना लिने गर्छौं । त्यो सूचनाको विश्लेषण गर्ने त्यसको अनुसन्धान गर्ने र राजस्व छली भएको देखिएमा मुद्दा चलाउने । राजस्व चुहावट नियन्त्रण ऐन २०५२ र त्यसको संशाेधन २०७६ बमोजिम हामी अघि बढ्छौँ । ५० लाखसम्मको चाहिँ जरिमाना गराउने अर्थात् राजस्व तिराउने त्योभन्दा बढी भयो भने कानुनबमोजिम अदालतमा मुद्दा चलाउने काम हामीले गर्छौं । त्यसरी मुख्य रुपमा यी ३ वटा रणनीतिअनुसार विभागले काम गर्छ । ती काम गर्ने सन्दर्भमा विभिन्न सरोकारवाला पक्षहरूसँग छलफल अन्तर्क्रिया गर्छ । अनुसन्धानका क्रममा तोकिएका अधिकारीहरूले त्यसको प्रमाण र तथ्यहरू केलाएर विश्लेषण गर्ने सम्बन्धित व्यक्तिको बयान लिनेलगायत कामहरू हामी गर्छौं ।
विभागका तर्फबाट गरिने अनुसन्धानहरू विवादरहित हुन सकिरहेका छैनन् । अहिले पनि विभागले अघि बढाएको अनुसन्धानबारे विमतिहरू सार्वजनिक भएका छन्, के भन्नुहुन्छ ?
उद्योगी व्यवसायीहरूसँगको अन्तर्क्रियामा हामीले भन्ने गरेका छौँ कि हाम्रो विभागको काम यो हो । हामीले आफ्नो जिम्मेवारी निर्वाह गर्दा तपाईँँहरूलाई एउटा प्रक्रियामा काम गर्छौं । तपाईँहरूलाई त्यसमा कुनै चित्त बुझेन, गुनासो भयो अर्थात स्पस्ट नभएको विषय भयो भने तपाईँँहरू प्रत्यक्ष रूपमा विभागमा आएर महानिर्देशकलाई भेट्न सक्नुहुन्छ, सम्भव नभए सूचना अधिकारीलाई भेट्न सक्नुहुन्छ त्यो भने भएन भने अनुसन्धान अधिकृतलाई भेटेर पनि आफ्ना कुराहरू राख्न सक्नुहुन्छ । त्यसबेला तपाईँँले निर्धक्क रूपमा आफ्नो गुनासो र सुझाव राख्न सक्नुहुन्छ । अब अनुसन्धान हुनेबितिकै त्रसित हुनुपर्ने अर्थात् डराउनुपर्ने कुनै कारण छैन ।
हामी के स्पस्ट पार्न चाहन्छौं भने कसैलाई दुःख दिने नियतले या पूर्वाग्रह साँध्ने नियतले काम गर्दैनौँ । त्यति हुँदा पनि तपाईँहरूलाई विभाग या विभागको कर्मचारीले त्यस्तो गरेको लागेमा फेरि पनि विभाग आएर स्पस्टसँग आफ्ना कुरा राख्ने छुट सबैलाई छँदै छ । हामी अनुसन्धानको प्रक्रियाको बारेमा मात्रै होइन, परिणामका बारेमा पनि बताउँछौँ । कानुन बमोजिम तिर्नु बुझाउनुपर्ने कर राजस्व केही छ भने उहाँहरूले तिर्नुपर्छ । छैन भने हामी धन्यवाद भनेर बिदा गर्छौं । हाम्रो काम नै वैध व्यापारलाई प्रमोशन गर्ने हो र गैरकानुनी कारोबारहरू मात्रै हो हामीले अनुसन्धान गर्ने । जसले वैध काम गरिरहेका छन्, उनीहरूले डराउनुपर्ने तर्सिनुपर्ने कुनै कारण छैन ।
राजस्व अनुसन्धान विभागले अहिले चाहिँ के गरिरहेको छ ?
अहिले नेपाल सरकारको वार्षिक राजस्व लक्ष्य छ । कर र भन्सारतर्फको लक्ष्य हेर्दा लिइएको लक्ष्य पूरा हुँदैन कि भन्ने जस्तो देखिन्छ अहिलेसम्मको रेकर्ड हेर्दा । राजस्वको लक्ष्य पूरा नहुुनुको भित्री कारण के हो, त्यसको कुनै चुहावट, कुनै लिकेज भएर त्यस्तो भएको होइन भन्ने हिसाबले हामीले भन्सार र करतिरको कुराहरूलाई अलि गम्भीरतापूर्वक हेर्ने काम गर्छौं । हामीले यहाँमार्फत् जे गरिरहेका छौँ त्यसको एउटै उद्देश्य भनेको राजस्वको लक्ष्य वृद्धि होस् भन्ने मात्रै हो । त्यो लक्ष्य पूरा गर्न सकियो भने सरकारको कोष बलियो हुन्छ । कोष बलियो भए भने सरकारले तोकेका कार्यक्रमहरू पूरा गर्न सजिलो हुन्छ । त्यसकारण सरकारी कोष बलियो बनाउने र राजस्वको लक्ष्य पूरा गर्नेतर्फ हाम्रो कदम सहयोगी हुनुपर्छ भन्ने ध्येयबमोजिम नै हामीले आज आफ्ना काम कारबाही अघि बढाइरहेका छौं । त्यही कारण हो हामीले अनुसन्धानको क्रमलाई तीव्रता दिने गरेको । कतिपय ठाउँमा जनशक्तिको कमी छ, कामको बोझ बढी छ भने पनि प्राथमिकताका आधारमा काम अघि बढाइरहेका छौं । विभिन्न फाइलहरूमध्ये विभिन्न सूचनामध्ये प्राथमिकता निर्धारण गरेर हामीले काम गरिरहेका छौं । र हाम्रो यो अभियान निरन्तर अघि बढ्छ । अहिले हाम्रो लक्ष्य भनेको नै राज्यको लक्ष्य पूरा गर्न सहयोग गर्ने हो । जसका लागि हामी हाम्रा सबै संयन्त्रमार्फत् काम गरिरहेका छौँ । अब म आएको भर्खरै २ महिना भएको छ । प्रारम्भिक अनुसन्धानका कामहरू भइरहेका छन् । हाम्रा मातहतका ४ वटा कार्यालय र विभागका १० वटा शाखाले आफ्नो काम गरिरहेका छन् साथीहरूले काम गरिरहनु भएको छ । अब केही समयभित्रै परिणाम देखिन सुरु हुन्छ ।
जसरी विभागका तर्फबाट अघि बढाइएका अनुसन्धानबाट समस्या भएको भनेर भनिएको छ, यसको मतलब के हो जस्तो लाग्छ ?
अब हेर्नुहोस् कानुनले के भनिरहेको छ भने राजस्व छल्ने मात्रै होइन, राजस्व छल्नेहरूलाई अनुसन्धान गर्ने काममा अवरोध गर्ने कार्य पनि कानुनविपरीत हो । त्यसरी बाधा अवरोध गर्नु पनि कानुन विपरीत हो र त्यो पनि अनुसन्धानको विषय हुन्छ । त्यो पनि राजस्व छली नै मानिन्छ । त्यसकारण बाधा अवरोध गर्ने होइन कि सपोर्ट गर्नुपर्याे । यो सरकारी सार्वजनिक निकाय हो । यसले सरकारको लक्ष्य पूरा गर्ने गरी आफ्नो काम गर्छ त्यसैले हामीले गरेको काम दुःख दिन होइन, राज्यको लक्ष्य पूरा गराउन हो । कानुन बमोजिम काम गर्नेहरूलाई हामी प्रमोट नै गर्छौं हौसला नै दिन्छौं । तर कोही जानीनजानी कानुनविरुद्ध काम गरिरहेका छन् भने त्यो नियतवश होस, मिलेमतोमा होस या नजानेरै किन नहोस् उनीहरूलाई कानुनको बाटो देखाइदिने, कानुन बमोजिमको कारबाहीको प्रक्रियामा अघि बढाउने गरी हामी काम गर्छौं । अवश्य पनि जसले राजस्व छली गरिरहेका छन्, राज्यको राजस्व हिनामिना गर्ने कानुनविपरीतका काम गरिहेका छन्, उनीहरूले विभिन्न समयमा यस विभागलाई खारेज गर्नुपर्नेसम्मका अभिव्यक्ति दिने गरेका छन् । आज पनि त्यस्ता राजस्व छल्ने, अवैध कारोबार गर्ने र राजस्व चुहावट गर्नेहरूले मेरा र विभागका विरुद्ध अफवाह फैलाएर कोकोहोलो मच्चाइरहेका देखिन्छन् । यस प्रकारको अफवाह र षड्यन्त्रबाट विभाग धम्किने डराउने होइन कि आफ्नो लक्ष्यमा अडिग भएर अविचलित भएर अघि बढ्छ । यसरी बदनाम गरेर धमिलो पानीमा माछा मार्न पाइन्छ भन्ने कसैलाई लागेको छ भने त्यो उनीहरूको दिवास्वप्न मात्रै हो । कर्मचारी आउने जाने यो सामान्य प्रक्रिया हो तर विभागले अविच्छिन्न रुपमा आफ्नो काम निरन्तर अघि बढाउँछ । विभागविरुद्ध षड्यन्त्र गरेर होइन प्रचारबाजी गरेर होइन कानुन बमोजिमको राजस्व तिरेर सबैलाई वैध र कानुनबमोजिम आफ्नाे कारोबार गर्न म विनम्र अनुरोध गर्दछु ।
हेर्नुस् भिडियो
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१