काठमाडौँ : पूर्वमन्त्री एवं प्रतिनिधिसभाकी सांसद जुलीकुमारी महतोले एसइई परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीलाई पुनः परीक्षा हलसम्म पुर्याउने सरकारको दायित्व भएको बताएकी छिन् ।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा आफ्ना धारणा राख्दै सांसद महतोले ५२ प्रतिशत अनुत्तीर्ण हुने गरी आएको परीक्षाफलले निराशा छाएको बताएकी हुन् । भविष्यका कर्णधारको रुपमा रहेका एसइई दिने विद्यार्थीमध्ये आधाभन्दा बढी फेल हुनुले देशको बिग्रँदो शिक्षा प्रणालीलाई प्रतिबिम्बित गरेको सांसद महतोको भनाइ थियो ।
देशका युवाहरूको भविष्य अन्धकार भएको हेर्नुपर्ने अवस्थाको अन्त्यका लागि पटकपटक छलफल गरिए पनि सुधार देखिएकामा सांसद महतोले चिन्ता व्यक्त गरिन् । परीक्षा प्रणाली र शैक्षिक क्षेत्र सुधारका लागि सरकारले तत्काल आवश्यक कदम लिनुपर्ने भन्दै सांसद महतोले सरकारको ध्यानाकर्षण समेत गराइन् ।
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१