काठमाडाैँ- उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बजेट विनियोजनमा पक्षपात गरेको भनेर आरोप लगाउने सांसदहरुलाई बजेट पुनः पढ्न आग्रह गरेका छन् ।
तथ्य तोडमरोड गरेर समाचार सार्वजनिक गर्ने पत्रिकाकै आधारमा सांसदहरूले धारणा नबनाई तथ्यको पुनर्जाँच गर्न महासेठले आग्रह गरे । सासंदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सोमबार संसद्को रोस्ट्रममा उभिएर उपप्रधानमन्त्री महासेठले देशभर वैज्ञानिक ढंगले बजेट वितरण गरिएको जानकारी दिए ।
कुन क्षेत्रमा कसरी बजेट विनियोजन गरिएको थियो भन्ने तथ्यांक प्रस्तुत गर्दै उपप्रधानमन्त्री महासेठले भने, 'माग गरिएका सबै योजनामा बजेट व्यवस्था गर्न सकिएन । तर, जति उपलब्ध भयो त्यसको न्यायोचित वितरण गरिएको छ ।'
सांसदहरूको प्रश्नको जबाफ दिने क्रममा उपप्रधानमन्त्री महासेठले जनताद्वारा निर्वाचित महिला सांसदलाई केही सांसदहरूले जानीजानी होच्याउने गरी अभिव्यक्ति दिएकोप्रति दुःखसमेत व्यक्त गरे । महासेठले भने, 'संसद्मा उपस्थित हुने सबै सांसदको हैसियत समान हुन्छ, जनताद्वारा निर्वाचित भएका महिला सांसदहरू कसैको श्रीमती, बहिनी भएका कारण या अन्य कुनै नाताकाे सहारामा संसद्मा आएका होइनन् ।'
आफूले सम्मान खोज्ने भए अरूको सम्मान गर्न जान्नुपर्ने बताउँदै उनले सांसदहरूले मर्यादाभन्दा बाहिर गएर अभिव्यक्ति दिनु गलत भएकाे बताए ।
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१