काठमाडौँ । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि प्रदेश सभाको विशेषाधिकार हनन्मा कारबाही गर्ने चेतावनी दिएको छ ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश सभाले पास गरेको सङ्कल्प प्रस्तावबारे राय दिनु र विरोधमा बोल्नु संविधानको धारा १८७ (२) विपरीत भएको बताएका हुन् ।
प्रदेश सभाले ७ वैशाखमा मुख्यमन्त्री कार्कीलाई २५ वैशाखभित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने सङ्कल्प प्रस्ताव पास गरेको थियो । साथै मुख्यमन्त्रीले विश्वासको मत नलिने र राजीनामा पनि नदिए नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखलाई सन्देश दिने उल्लेख थियो ।
तर मुख्यमन्त्री कार्कीले आफू संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेकाले समर्थन फिर्ता हुन नसक्ने भएकाले विश्वासको मत नलिने अडान लिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१