वीरगन्ज (पर्सा) । वीरगन्ज महानगरपालिका-१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सात वटा घर जलेका छन् । वीरगन्ज महानगरका-१७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको वीरगन्ज महानगरपालिका-१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए ।
‘सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ,’ उनले भने, ‘ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ । फुसको घरमात्रै होइन, गाईगोठलगायत संरचना पनि नष्ट भएका छन् ।’
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुई वटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताए ।
आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा १० लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सहनीको सुनचाँदी, एउटा गाई र चार वटा बाख्रासमेत जलेका छन् । आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चार वटा चौपाया गरी आठ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही ठाउँका वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित चार लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदीसहितका गरगहना जल्दा ११ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी चार लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । अभय सहनी सात लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सोही ठाउँकै अदालत साहको छ लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विपद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताए ।
यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया वस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा १२ करोड ८४ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१