काठमाडौँ -कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज मंगलबार नेपाल आउँदैछन्। उनी दुईदिने राजकीय भ्रमणका लागि नेपाल आउन लागेका हुन्।
पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेभित्र नेपाल आइपुग्ने तालिका छ । उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जानेछन् । उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ ।
उनको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन्।
कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएको तथा त्यस क्रममा उनले फिलिपिन्स, बंगलादेशको भ्रमण गरिसकेका छन्। दुई देशको भ्रमण सकेनर नेपाल आउन लागेका अमिर नेपालमा दुई दिन रहने राजदूत अल अन्सारीले बताएका छन्।
राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीको तीनवटै देशका उच्च नेतृत्वसँग भेटवार्ता पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित छ। कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।
कतारका अमिरबाट नेपालमा पहिलोपटक यो भ्रमण हुन लागेको हो।भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ।
उनी बुधबार स्वदेश फर्किनेछन् । बुधबार अमिर थानी फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटाम जारी हुनेछ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१