काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेबाट ५० करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ ।
पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड ५६ लाख ६५ हजार ३९९ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो ।
विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहणमा उत्साहवर्द्धक रुपमा आरोही आइरहेको बताए ।
उनका अनुसार सगरमाथा आरोहीबाट हालसम्म राजस्व राजस्व सङ्कलन भइरहेको छ । अघिल्लो वर्षकै हाराहारी रोयल्टी उठ्ने अनुमान गरिएको उनले बताए ।
विभागले अद्यावधिक गरेको विवरणअनुसार सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति पाएका छन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका हुन् ।
निर्देशक गुरुङले आरोहीको सङ्ख्या पनि अघिल्लो वर्षकै हाराहारीमा आउने अपेक्षा गरिएको बताए । अघिल्लो वर्ष हालसम्कै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।
उनीहरुबाट रोयल्टी रकम पनि बढ्ने विभागको अनुमान छ । गत वर्ष ७६ करोड रोयल्टी रकम जम्मा भएको थियो । यस वर्ष ५६ करोड रुपैयाँ रोयल्टी उठिसकेको छ । थप पाँचदेखि सात करोड रोयल्टी जम्मा हुने अनुमान गरिएको निर्देशक गुरुङले बताए ।
विभागका अनुसार सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमति बापत् हालसम्म ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ रुपैयाँ रोयल्टी जम्मा भएको छ । यसमध्यै सगरमाथाबाट सर्वाधिक रोयल्टी उठेको हो ।
‘यो यामको सगरमाथा आरोहण उत्साहजनक देखिएको छ, रोयल्टी रकम पनि अघिल्लो वर्षकै हाराहारी हुने विभागको अपेक्षा छ’, निर्देशक गुरुङले भने, ‘सगरमाथा आरोहीको सङ्ख्या वैशाख ७ गतेसम्म तीन सय ५२ पुगिसकेको छ । अब तीनदेखि चार वटा अनुमति होला, त्यस हिसाबले हेर्दा चार सयभन्दा बढी आरोही पुग्ने देखिन्छ ।’
विभागको विवरणमा सगरमाथापटि ल्होत्से हिमालबाट एक करोड ७२ लाख ५८ हजार नौ सय २२ र मकालु हिमालबाट एक करोड ७७ लाख ४८ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
पर्वतारोहणसम्बन्धी नियमावली २०५९ अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीलाई रु ११ लाख दस्तुर लाग्छ । नेपालीले ७५ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च गर्छन् ।
मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ । वसन्त ऋतु आरोहणका लागि उपयुक्त याम मानिन्छ । यस याममा सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट सर्वाधिक सङ्ख्यामा आरोही आउँछन् ।
सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले आफ्नो कम्पनीमार्फत यस याममा पनि धेरै सङ्ख्यामा आरोही आएको बताए । वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा पनि बाक्लो सङ्ख्यामा आरोही आइरहेको र यसले नेपालको पर्यटनमा उत्साह जगाएको बताउँछन् ।
सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरि, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि आरोही हिमालतिर लागेका हुन् । यस यामको सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्म बाटो खुलिसकेको विभागले जनाएको छ ।
सगरमाथाको चुचुरोसम्म बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ)का लागि सगरमाथा क्षेत्रमा खटिएका हुन् । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाएको छ । यस्तै दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ गर्ने जिम्मा सेभेन समिट ट्रेक्सले पाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१