काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वासको मत लिने भएका छन् । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ।
गत फागुन २१ गते संघमा गठबन्धनमा फेरबदल आएसँगै चैत ५ गते कांग्रेस मधेसको सरकारबाट बाहिरिएको थियो। त्यसपछि नेकपा एमाले सरकारमा सहभागी भएको थियो।
कांग्रेसले गत चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिन लागेका हुन्।
१०७ सदस्यीय मधेस प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल छ। उसका २५ सांसद छन्। नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमत पार्टीका १३ सांसद छन्।
लोकतान्त्रिक समाजवादीका ९, नेकपा माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीका १-१ सांसद रहेका छन्।
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१