काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति आवश्यक रहेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सहकारीमा लाखौँ मानिस पीडित भएको बताए । मंगलबार राप्रपाले गरेको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्रीको निर्देशनमा आफूमाथि कुटपिट भएको उनको आरोप थियो । गृहमन्त्री रवि लामिछानेलाई विगतमा चितवन प्रहरीले पक्राउ गर्दा आफूले साथ दिएको स्मरण गराउँदै उनले अहिले उनै गृहमन्त्रीले कुटपिट गराएको जिकिर गरेका हुन् ।
उनले भने, ‘रवि लामिछाने यो देशको गृहमन्त्री हुँदै गर्दा माइतीघर मण्डला निषेधित गराउनुभएको छ । यो देशको संविधान ठूलो कि गृहमन्त्री ठूलो ? नेपालको संविधानले स्पष्ट भनेको छ, शान्तिपूर्ण रूपमा कुनै पनि मान्छेले, कुनै पनि समूहले, कुनै पनि दलले आफ्नो मत राख्न पाउँछन् । निषेधाज्ञा कहाँ गर्ने भन्ने थाहा छ कि छैन ? भोलि सभामुख र हामी सांसदहरूको घर पनि निषेधाज्ञा बन्देला । बाथरुम पनि निषेधाज्ञा बन्देला । सिंहदरबार निषेधाज्ञा हो, संसद् भवन, राष्ट्रपति कार्यालय निषेधाज्ञा हो ? पूर्वगृहमन्त्री बुद्धिमान तामाङलाई कुटपिट गरिएको छ । हिजो मलाई गृह मन्त्रालयको आदेशमा डिएसपीले पक्रेर कुटपिट गर्न र मेरो लगाएको कपडा च्यात्नसम्म लगाउनुभयो । यसलाई कालो दिनमा रूपमा हामीले हेरेका छौँ । सुशासन मुखमा होइन व्यवहारमा गर्नुस् ।’
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०