काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने सर्वसम्मत निर्णय गरेको छ ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको जानकारी दिए । त्यससँगै आजको बैठकले तत्काल नेपाली कांग्रेसको माग बमोजिम संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णयसमेत गरेको उनले बताए ।
यदि कांग्रेसको माग सम्बोधन नभए संसद अवरोधको जिम्मा सरकारले लिनुपर्ने उनले चेतावनी दिए । नेपाली कांग्रेसले संसद अवरोध नचाहने बताउँदै लेखकले भने, ‘तर नेपाली कांग्रेसले उठाएको मागप्रति यदि सरकार गैरजिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत भयो भने कुनै पनि संसदको बैठक अथवा संसद्का कामकारबाही अवरुद्ध हुने कुराको जिम्मा नेपाली कांग्रेस होइन, अहिलेको सरकारले लिनुपर्छ भन्ने पनि आजको दलले सर्वसम्मत निर्णय गरेको छ ।’
गृहमन्त्री रवि लामिछानेले संसदमा उपस्थित भएर जवाफ दिन्छु भन्दा किन नमानेको भनेर सोधिएको प्रश्नमा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीको कुरा सुनिसकेकाले सबैको कुरा सुन्न जरुरी नभएको बताए ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०