काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी ठगीका विषयमा छलफल गर्न बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको छ। सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्ने/नगर्ने भन्नेबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षले आफ्नो अडान कायमै राखेपछि बैठकबाट कुनै निस्कर्ष निस्किन नसकेको हो।
योसँगै भोली बस्ने प्रतिनिधि सभाको बैठकमा मुठभेडको अवस्था आउने देखिएको छ । दुवै पक्षको अडान कायमै रहेपछि छलफल बिना निष्कर्ष सकिएको नेताहरूले बताएका छन् ।
बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले भोली बस्ने प्रतिनिधि सभाको बैठक सहज बनाउन प्रमुख प्रतिपक्षलाई आग्रह गरेपनि त्यसमा कांग्रेस सकारात्मक बन्न नसकेको बताए । ‘छानबिन समिति बन्न सक्दैन । समिति गठनको माग जायज र न्यायोचित छैन । हामीले प्रस्टसँग भन्यौ संसदीय छानबिन समिति बन्दैन’, बर्तौलाले भने ‘पूर्वाग्रहमा आधारित भएर यो माग आएको छ । मागमा रिभ्यु गर्नुपर्छ ।’
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले छलफलमा कुनै सहमति नभएको बताए । त्यस्तै रास्वपाका सन्तोष परियारले सदन चल्ने भन्दै गृहमन्त्रीले पेस गर्ने राजनीतिक विधेयक पेस हुने बताए ।
सभामुख देवराज घिमिरेले सोमबार गरेको चार दलका शीर्ष नेताको छलफलमा सत्तापक्षले समिति गठन गर्न अस्वीकार गरेको थियो भने प्रमुख प्रतिपक्षले समिति गठन नगरी सदन चल्न नदिने अडान राखेका थिए । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कुनै सहमति नभएको भन्दै संसद् अवरोध जारी राख्ने बताए ।
बैठकमा सभामुख घिमिरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री रवि लामिछानेलगायत सहभागी थिए ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०