काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले केपी ओलीले गरेको निर्वाचनमा जान नसकेर कांग्रेसले ठूलो गल्ती गरेको बताएका छन् ।
ओलीको त्यो निर्णय प्रतिगमन नभएको उनको भनाइ थियो । त्यो बेला चुनाव भएको भए देशमा दुई ठूला पार्टी काँग्रेस र एमालेमात्रै शक्तिमा रहने भण्डारीले दाबी गरे ।
आइतबार बुटवलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले हिजो पनि गल्ती गरेको र अहिलेसम्म त्यसलाई नसच्याएको बताए ।
‘अहिले सरकार बनाउन धेरै दलको साथ खोज्नुपरेको छ, त्यो बेला चुनावमा गएको भए धेरै समस्या हुने थिएन, साना दलको अवस्था अहिलेको ठाउँमा रहने थिएन’, भण्डारीले भने ।
उनले थपे, ‘निर्वाचनमा जानु प्रतिगमन थिएन, त्यतिबेला चुनावमा गएको भए कांग्रेस र एमाले मात्र हुन्थे, ‘प्रचण्ड’ र माधव नेपालको पछि लागेर प्रतिगमन भन्दै हिँड्नु गलत थियो ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०