काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आज विश्वासको मत लिँदै छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै फागुन २३ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने भएका हुन् ।
त्यसका लागि प्रदेश सभाको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधानअनुसार मुख्यमन्त्री चौधरी आज विश्वासको मत लिन लागेका हुन् । तर, प्रदेश सभाको अंकगणित हेर्दा उनले विश्वासको मत पाउने सम्भावना न्यून छ ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४र४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३र३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १र१ र एक स्वतन्त्र सांसद छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन चाहिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०