काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलेलाई निर्दोष साबित गर्ने हक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सभामुखको ध्यानाकर्षण गराएर समय लिई बोल्दै शर्माले संसदीय छानबिन बनाएर सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेले आफुलाई निर्दोष साबित गर्नुपर्ने बताएका हुन् ।
शर्माले भने– ‘प्रधानमन्त्री र केही सांसदले उहाँ निर्दोष हुनुहुन्छ भन्नुभयो । अकबर र बीरबलको कथामा चोरको दारीमा सिन्को भनिसक्दा हत्त न पत्त दारी छामेजस्तो किन गर्नुभएको हो, प्रधानमन्त्रीदेखि अरूहरूले किन हो मैले बुझ्न सकिन । गृहमन्त्रीजीलाई पनि त्यहाँ रोष्टममा उभिएर ठूलाे स्वरमा भन्न मन छ कि म निर्दोष छु । संयोगवश दारी पाल्नुभएको छ, दारी छाम्न हतार नगर्नुस् । को दोषी को निर्दोष भनेर न रोष्टमबाट न फ्लोरबाट यहाँबाट यो छुट्ट्याउने विधि हैन, पद्धतिमा यो कहिँपनि उल्लेख छैन । हामी चाहन्छौँ संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीलाई निर्दोष हुन पाउने जुन हक छ त्यो उपयोग गर्न उहाँलाई दिऊँ ।’
शर्माले संसदीय समिति किन भन्ने प्रश्न उठेको बताउँदै चोरी, ठगी, जालसाँझी जस्तो लाजमर्दो मुद्दामा संसदीय छानबिन आवश्यक नपर्ने र त्यस्ता मुद्दा गाउँको पुलिसले गोर्खे लौरीले समाधान गर्ने बताए । तर यस्तो मुद्दा संसद्मा आएको बताउँदै उनले गृहमन्त्रीसँग स्वार्थ बाझिएको बताए ।
सहकारीको रकम अपचलनबारे आरोपित रहेको भनी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ । संसदमा उठेका प्रश्नहरुको जवाफ संसदमै दिन चाहेको उपप्रधानमन्त्री लामिछाने बताउँदै आएका छन् ।
तर, कांग्रेसले लामिछानेलाई प्रतिनिधि सभाको रोष्ट्रममा सुन्न चाहेको छैन् । सहकारीको रकम हिनामिनामा लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ ।
त्यसै गरि कांग्रेसले आफूहरुको सहमति बेगर संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ । अन्यथा, आफूहरु कठोर हुने चेतावनी दिएको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसले उठेर विरोध गरेको थियो । सभामुख घिमिरेले समय दिएपछि कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले संसदमा एजेन्डा तय हुँदा प्रमुख प्रतिपक्षी र कार्य व्यवस्था परामर्श समितिको सहमति हुनुपर्ने बताएका हुन् । बुधबार आफूहरुको असहमतिका बाबजुत एजेण्डा राख्न खोजिएको र सभामुखले त्यसलाई सच्याएको पनि उनले बताए ।
‘यदि प्रमुख प्रतिपक्षको सहमति बेगर या कार्य व्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै पन प्रस्तुति रोष्ट्रमबाट आकस्मिक रुपमा गर्न लागियो भने त्यसमा फेरि प्रमुख प्रतिपक्षको विनम्रतापूर्वक तर, उत्तिकै कठोरतापूर्वक विमति रहने कुरा म पूर्वसूचना आजको हाउसमा सबै भन्द पहिले गर्न चाहन्छु,’ सांसद शर्माले भने ।
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०