काठमाडौँ। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले जनताले दिएको म्यान्डेट अनुसार नै सरकारमा सहभागी रहेको बताएका छन् ।
बिहीबार पदभार ग्रहण गर्दै मन्त्री चौधरीले आफ्नो पार्टीले एक वर्ष पहिलेदेखि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएकाले हाल पदभार ग्रहण गर्नु सरकार सञ्चालनको प्रक्रिया मात्रै रहेको बताए ।
‘संघीय सरकार होस् या प्रदेश सरकार, पार्टी चलाउने हो या जनताबाट चुनिएका जनप्रतिनिधिले हो भन्ने हो । जनताले हामीलाई म्यान्डेट दिइसकेका छन् सरकार तपाईँहरू चलाउनुस् भनेर’ उनले भने, ‘त्यही म्यान्डेट हामी पालना गरिरहेका छौ । पार्टीले सल्लाह सुझाव दिन सक्छ ।’
उनले आफूले पाएको जिम्मेवारी सुदूरपश्चिमका जनताको हितमा हुने बताएका छन् । बुधबार मात्रै टीकापुरमा बसेको नाउपाको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, त्यसको एक दिन नबित्दै नाउपाका एकथरी मन्त्री सरकारको मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०