काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले भन्सार विधेयक भन्सार उठाउनको लागि हो कि लुट्नको लागि हो ? भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएका छन् । प्रतिनिधि सभामा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको भन्सार विधेयकमाथि मंगलबारको बैठकमा आफ्नो धारणा राख्दै सांसद साहले यस्तो प्रश्न उठाएका छन् ।
‘यो भन्सार विधेयक भन्सार उठाउनको लागि हो कि लुट्नको लागि हो ? यदि भन्सार उठाउनको लागि नै हो भने भन्सारमा रहेको कथित पुरस्कारको व्यवस्था खारेजीको जरुरी छ’ सांसद साहले भने, ‘भन्सार उठाउनको लागि सरकारले कर्मचारीको व्यवस्था गरेको छ । सुरक्षा निकायलाई नै खटाएको छ । जसले तलब, सेवा सुविधा सबै पाएकै छ । त्यही कामको लागि खटाईएको छ, भंसार संकलनकै लागि खटाइएका कर्मचारीलाई त्यही काम गरेवापत केका लागि पुरस्कार ? पुरस्कारको व्यवस्था गरिनु गलत हो ।’
कुनै कर्मचारीले भन्सार छलेको सामाग्री पक्राउ गर्दा पुरस्कारको नाममा पैसा खाने काम गरेको उनको भनाई छ । उनले पुरस्कृत हुनेहरुको नाम सार्वजनिक किन गरिएन ? भन्दै प्रश्न गरे । पुरस्कृत हुने व्यक्तिको नामावली सार्वजनिक नगर्नू भनेको भ्रष्टाचार हो भन्ने उनले बताए । साचो रुपमा मनोबल बढाउँनका लागि पुरस्कृत गरिएको हो भने त्यस्तो व्यक्तिको नामावली सार्वजनिक गर्नुपर्ने उनले बताए ।
चोरीपैठारीको नाममा सिमावर्ती जनतालाई दुख दिने प्रताडित गर्ने काम हुनु आफूहरुलाई सह्य नहुने चेतावनी समेत उनले दिए । राज्यको कोष लुटने काम आफूहरुलाई मान्य नभएको बताउँदै उनले सुरक्षाको नाममा नामावली सार्वजनिक नगर्नु राम्रो नभएको साहको भनाई रहेको छ । सिमावर्ती जनता जसले सिमाको रक्षा गरिरहेका छन ति जनतालाई दुख दिने काम भईरहेकाले त्यसलाई आफूले स्वीकार नगर्ने उनले बताए । व्यक्ति मोटाउँने, सरकार दुब्लाउँने र जनता दुब्लाउँने कार्य बन्द गरिनुपर्ने उनले माग समेत गरे ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०