काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै छानबिन समिति गठनको माग गरेका हुन् ।
कांग्रेसले प्रधानमन्त्रीको जवाफपछि आफ्नो असन्तुष्टि देखाउदै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलामिछानेको बिषयमा संसदीय समिति बनाएर छलफल गर्नुपर्ने अडान राखेको छ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेबारे जवाफ दिएका थिए । उनले लामिछाने कुनै सहकारीको संस्थापक, व्यवस्थापक, सञ्चालक केही नरहेको र उनीमाथि उजुरी मात्र परेको भन्दै कांग्रेसले अनावश्यक राजनीति गरेको आरोप लगाएका थिए ।
प्रश्नको सम्बोधन क्रममा प्रचण्डले हालसम्म अनुसन्धानले रवि लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन भन्ने उत्तर दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री नै अन्धकारमा रहेको र गलत प्रमाण बोकेर संसदमा आएको आरोप लगाएको छ।
‘प्रधानमन्त्रीको जवाफबाट कांग्रेसको चित्त बुझ्ने ठाउँ पटक्कै भएन बरु थप चिन्ता भयो । सम्माननीय प्रधानमन्त्रीजीलाई नै गलत सूचना दिँइदैछ, सम्माननीय प्रधानमन्त्री नै अध्यारोमा हुनुहुन्छ भने यो विषयको निष्पक्ष छानबिन होला ?’ कांग्रेस सचेतक रमेश लेखकले भने -यो बिषयमा संसदीय समिति बनाई छलफल गर्न आवश्यक छ,प्रमाण के हो देखिन्छ।
‘एउटा छानबिन समिति गठन गरौँ, दुधको दुध पानीको पानी हुन्छ’, नेता लेखको माग छ । नेता लेखकले प्रधानमन्त्रीले लामिछानेलाई कारबाही गर्न प्रमाण नभएको भनेपनि पर्याप्त प्रमाण रहेको दाबी समेत गरे ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०