काठमाडौं । अन्ततः मेनपावर कम्पनीहरुले पनि कोरिया कामदार पठाउन पाउने भएको छ । यसअघि सरकारले मात्रै नेपाली कामदार कोरिया पठाउँदै आएकामा अब भने मेनपावरहरुले पनि दक्ष कामदार पठाउन मिल्नेगरी कार्यविधि तयार गरिएको हो ।
श्रम रोजगार तथा सामाजिक मन्त्रालयले १७ फागुनमा कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० जारी गरेसँगै कोरियामा म्यानपावरमार्फत पनि श्रमिक पठाउने बाटो खुला भएको हो ।
दक्षिण कोरियाले सुरूमा कृषि तथा पशुपालन, उत्पादनमूलक र सीप बिल्डिङ्ग क्षेत्रमा नेपाली कामदार लैजाँदै आएकोमा सन् २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्र थपिएको छ । हाल ईपीएसबाट गइरहेका नेपालीहरूको ई–९ भिसा हो भने अब मेनपावर कम्पनीहरुले पठाउने ई–७ भिसा दक्ष कामदारका लागि हो ।
यो भिसा प्रणालीबाट कोरिया काममा पठाउने मेनपावरसँग भाषा र सीपको लागि प्रचलित मापदण्डबमोजिमको आफ्नै स्वामित्वको तालिम केन्द्र हुनुपर्ने छ । भाषा सिकाउन आधिकारिक प्रमाणपत्र प्राप्त कम्तीमा २ जना भाषा प्रशिक्षक अनिवार्य गरिएको छ ।
ई–७ भिसामा कोरिया जान इच्छुक नेपालीले कोरिया सरकारको सम्बन्धित निकायबाट मान्यता प्राप्त संस्था वा इजाजतपत्र प्राप्त संस्थाबाट सञ्चालन भएको कोरियाली भाषा ज्ञान र पेशागत सीप परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । सो भिसामा कोरिया जाने कामदारको मागपत्र प्रमाणीकरण र व्यवस्थापन कोरियाली सरकार र नेपाल सरकारले गर्नेछ । भाषा परीक्षा र सीप परीक्षणसमेत निःशुल्करूपमा नेपालमा नै सञ्चालन गरिनेछ ।
ई–७ भिसामार्फत् कोरिया जाने कामदारको हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा योगदान, समाजिक सुरक्षा कोषमा योगदान र श्रम स्वीकृतिमा लाग्ने खर्च रोजगारदाताले व्यहोर्ने छ ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०