काठमाडौँ । विवादित छवि भएका एआईजी श्याम ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख बनाएपछि संसदमा यसको बिरोध भएको छ।
‘सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र हाल सरकारले नियुक्त गरेका सीआईबी प्रमुख श्याम ज्ञवालीका बीचमा दुई करोड लेनदेनको अडियो सार्वजनिक भएको थाहा हुँदाहुँदै सरकारले सीआईबी प्रमुख श्याम ज्ञवालीलाई बनाउनुमा शंकास्पद भएको भन्दै सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा यसको बिरोध भएको हो।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले सरकारले एआईजी श्याम ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख बनाउनु शंकास्पद रहेको बताए । सुन तस्करमा संलग्न भनिएको व्यक्तिसंग निकट भएको व्यक्तिले अनुसन्धानमा सहयोग गर्न नसक्ने उनको जिकिर थियो।
सरकारले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गरेर उनको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई लैजाने निर्णय गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०