डा. बाबुराम भट्टराईको राजनीतिक यात्राको ग्राफ हेर्दा पटक- पटक पार्टी, बिचार परिवर्तन गरेर नेपाल समाजवादी पार्टीको नेता बनेका देखिन्छन । भट्टराई लामै समय टिकेको तत्कालीन माओवादी पार्टी मात्रै हो । कम्युनिस्टरुको ‘धर्मशस्त्र सरह’ मानिने मार्क्सवादको मार्गदर्शक यात्रा त्यागेका भट्टराई अहिले मधेश केन्द्रित दलमा समावेश छन् ।
अहिले आफु आबद्ध भएको दल आफुलाई थाहै नदिई नेकपा माओबादी केन्द्रसंग एकता हुन लागेको कुरामा समेत उनि बेखबर थिए । नेसपाका नेता महिन्द्र राय यादवले नेकपा माओबादीका नेता पुष्पकमल दाहाल प्रचण्डसंग पार्टी एकीकरण गर्न लागेको कुरा सामाजिक संजालमा देखेपछि मात्रै उनी आफु एक्लिएको बारे थाहा पाएका थिए।
राजनीतिमा अस्थिर खेलाडीको उपमा पाएका भट्टराईको राजनीतिक इतिहास हेर्ने हो भने अस्थिरता बाहेक केहि पानी भेटाउन सकिदैन। राजनीतिमा बेदाग भट्टराई माओवादी क्याम्पमा पुगेपछि भने पटक-पटक आलोचित बन्न पुगेका छन् । आफु सम्मिलित दल त्याग गरेपछि उनको राजनीतिक भविष्य ओरालोतर्फ मात्र लागिरहेको छ।
संविधान जारी भएपछि मधेसमा विरोध प्रदर्शन भइरहेका बेला भट्टराईले ९ असोज २०७२ मा पत्रकार सम्मेलनमार्फत एकीकृत माओवादी त्यागेको घोषणा गरेका थिए । नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको घोषणा त्यतिबेलै गरेका भएपनि त्यो घोषणाको,त्यो त्यागको कुनै अर्थ रहेको देखिएको छैन । उनले पाँच ‘स’ शान्ति, संविधान, सुशासन, समृद्धि र समाजवादी आफ्नो आगामी राजनीतिक एजेन्डा रहने बताएका थिए
माओबादी पार्टी त्याग गरेपछि उनले जेठ २०७३ मा नयाँ शक्ति पार्टी नेपाल स्थापना गरे । त्यसलाई पनि उनले सोचेको जसरी अगाढी बढाउँन सकेनन् । त्यसपछि उनले नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीच एकीकरण गरेर समाजवादी पार्टी नेपाल गठन गरेका थिए । पछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच पार्टी एकता भयो । यी दुई पार्टीबीचको एकतापछि जनता समाजवादी पार्टी नेपाल गठन गरियो । भट्टराई जसपाको संघीय परिषद् अध्यक्ष भए । त्यसलाई पनि टिकाउन नसकेर नेसपा भयो। नेसपाबाट पनि उनी अब एक्लिएका छन्।
जनयुद्धका समयमा सबैका हाइ-हाइ पाएका उनी त्यो बेला प्रचण्ड भन्दापनि माथिल्लो स्तरको बुद्धिजीवी ठहरिन्थे । उनको राजनैतिक दुरदर्शिताले देशमा ठुलै उथलपुथल हुने उनका शुभचिन्तकको विश्लेषण थियो। नेपाल लगायत छिमेकी देश सहित दक्षिण एसियामै उनको चर्चा राम्रै हुने गर्थ्यो।
२०६३ पछि शान्ति प्रक्रिया अनि संविधान सभाको निर्वाचनसम्म आइपुग्दा पार्टीभित्र प्रचण्ड सर्वेसर्वा बने पनि सर्वसाधरणमा बाबुराम लोकप्रिय थिए । २०६४ को निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बन्यो । प्रचण्ड प्रधानमन्त्री बने भने बाबुराम अर्थमन्त्री भए।अर्थमन्त्रीका रूपमा राजश्व धेरै उठाएको भनेर उनको प्रशंसा भयो। उनी अझै लोकप्रिय बनेका थिए।
त्यही माहौलमा उनी ३५औं प्रधानमन्त्री बन्न सफल भए । २०६८ भदौ ११ देखि २०६९ फागुन ३० सम्म प्रधानमन्त्री रहे । भट्टराईकै नेतृत्वमा सरकार रहेको बेला पहिलो संविधान सभा अन्त्य भएको थियो ।
प्रधानमन्त्री बनेपछि भट्टराईले सायद आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो भुल गरे । जसरी पनि संविधान निर्माणको संयोजन गर्ने पर्नेमा संविधान सभा नै नरहे आफैं लामो समयसम्म नेपालको राजनीतिमा सर्वेसर्वा रहन्छु भन्ने उनले सोचे सायद। संविधान जारी नगरीकन संविधान सभा विघटन गरिदिए । उनलाई त्यसले तुरून्तै कमजोर बनायो । त्यसको अपजस उनले अहिलेसम्म पनि पाइरहेका छन्। त्यसको परिणाम अहिलेसम्म नै भोगिरहेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत भइसकेका भट्टराईले गत निर्वाचनमा आफू नउठेर गोरखामा माओवादी अध्यक्ष दाहाललाई निर्वाचन क्षेत्र छोडिदिएका थिए भने अर्का अध्यक्ष यादवले माओवादी केन्द्रकै चुनाव चिन्हबाट उम्मेदवारी दिएर चुनाव जितेका हुन् । निर्वाचन अघि नै माओवादी केन्द्र र नेसपाबीच एकता गर्ने समझदारी बनेको थियो । तर बद्लिएको राजनीतिक क्रमले भट्टराई एक्लै छोडिएका छन् ।
राजनीतिक जीवनको उत्तरार्द्धमा आइपुग्दा समेत अटल ,स्थिर हुन नसकेका उनी फेरी अर्को संकटमा परेको देखिन्छ । माओबादी आफैको भविष्य संकटमा परेको बेला आफ्ना दलका नेताले गरेको एकपक्षीय निर्णयले उनलाई ठुलै संकट ल्याउनेमा दुइ मत छैन । भट्टराई आजसम्म न कुनै नेतृत्वमा नै स्थापित हुन सके, न वैकल्पिक शक्तिको उत्साह नै धेरै दिन टिक्यो।
भट्टराई वि.सं. २०११ असार ४ गते गोरखाको खोप्लाङ–४ मा जन्मिएका हुन् । ०२७ मा एसएलसीमा बोर्ड टप गरी उच्च शिक्षाका लागि काठमाडौंमा आएका थिए । काठमाडौंको ठमेलस्थित अमृत साइन्स क्याम्पसमा अध्ययनको क्रममा राजनीतिप्रति आकर्षित भएका थिए । तत्कालीन अवस्थामा कांग्रेस र कम्युनिष्ट खेमामा कतै नलागेका उनले राजतन्त्र विरोधी धार बनाएका थिए । प्रथम श्रेणीमा आइएस्सी उत्तीर्ण भएपछि उनी कोलम्बो प्लानमा इन्जिनियरिङ पढ्न भारतको चण्डीगढ गए ।
मेधावी विद्यार्थी भएकै कारण उनले कोलम्बो प्लानअन्तर्गत भारतको चण्डीगढबाट बी. आर्किटेक्ट गरे । जहवरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधी । भारतमै रहँदा उनी अखिल भारत नेपाली विद्यार्थी संघका संस्थापक अध्यक्ष बने । भट्टराई त्यतिबेलासम्म प्रजातान्त्रिक धारतिर बरालिएका थिए । जुन वैद्यानन्द झा नेपाली राजदुत भएका बेला उनको आर्थिक सहयोगमा संघ सञ्चालित हुन्थ्यो । त्यहीबेला भारतमा नेकपा (मसाल) निकट अखिल भारत नेपाली एकता समाज संस्था स्थापना भयो । एमालेले पनि जनसम्पर्क समिति बनायो । त्यहाँ नेपाली मजदुरमाझ समाजले रक्तिम सांस्कृतिक कार्यक्रम गर्थ्यो । ती सांस्कृतिक कार्यक्रमहरुमा भट्टराईलाई अतिथि बनाइन्थ्यो ।
०४२ सालमा नेपाल फर्किंएका भट्टराई संयुक्त जनमोर्चाको तर्फबाट २०५१ मा सरकारलाई ४० बुँदे माग राख्दै प्रचण्डसँगै माओवादी जनयुद्धमा होमिएका थिए । ०५२ साल फागुन १ बाट सशस्त्र आन्दोलन सुरू गर्दा भट्टराई राजनीतिक योजनाकार थिए । सशस्त्र युद्ध उत्कर्षमा पुगेकै अवस्थामा ०५८ भएको राष्ट्रिय सम्मेलनले मालेमावादसहित प्रचण्डपथ पारित गर्यो । पार्टीको मार्गदर्शक सिद्धान्त ‘२१ औं शताब्दीको नयाँ जनवाद’ अंगीकार गर्यो । पार्टीको सम्पूर्ण अधिकार अध्यक्ष प्रचण्डमा केन्द्रिकृत गर्यो । बिस्तारै पार्टी भित्र उनी असन्तुस्ट देखिन थाले। कालान्तरमा बाबुराम र प्रचण्ड पानी बाराबारको स्थितिमा पुगे।
०६१ सालमा रोल्पाको फुन्टिवाङमा बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले जनपरिषद्को संयोजकबाट राजीनामा दिएका थिए । त्यसपछि उनलाई बन्दी बनाउने देखि उनका कार्यकर्तामाथि कडा निगरानीमा राख्ने काम पार्टी नेतृत्वले गर्यो। तर ०६२ असोजमा रुकुमको चुनवाङमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईमाथिको कारबाही फिर्ता लियो । भट्टराईकै राजनीतिक कार्यदिशा अनुसार ०६२ साल मंसिर ७ गते दिल्लीमा तत्कालीन सात दल र विद्रोही माओवादीबीच १२ बुंँदे सम्झौता भयो ।त्यही जगमा २०६२-०६३ मा १९ दिने जनआन्दोलन भएको थियो ।
भक्तपुरको खरिपाटी भेलासम्म आइपुग्दा प्रचण्ड–बाबुरामबीचको सम्बन्धले उचाइ लिएको थियो । तर ०६६ पुस १८ मा ललितपुरको खन्ना गार्मेन्टको एक प्रशिक्षणमा प्रचण्डले बाबुरामलाई भारत परस्त भएको आरोप लगाउँदा सम्बन्ध चिसियो । पालुङटार विस्तारित बैठक आउँदासम्म विचारमा सम्बन्धविच्छेद भयो ।
२०४२ देखि सक्रिय राजनीतिमा लागेका बाबुराम माओवादी जनयुद्धको लिगेसीलाई पाखा लगाएर कम्युनिस्ट विचारलाई सदाका लागि त्याग्ने निर्णयमा पुगे। नेपालमा साम्यवादी शासन ल्याउन जनयुद्धमा लागेर १२ वर्षसम्म माओवादी पार्टीलाई हुर्काए–बढाएका बाबुरामले अन्ततः कम्युनिस्ट विचारधारालाई नै परित्याग गरे।
राजनीतिमा अस्थिर खेलाडीको उपमा पाएका बाबुराम भट्टराईको अबको बाटो कता हुने हो भन्नेमा समेत अन्यौल छन। जसपाबाट कारबाहीमा परेर पार्टीविहीन अवस्थामा पुगेको बेला बाबुरामको जुन हालत भएको त्यस्तै हालत फेरी दोहोरिएको छ।
माओवादीबाट छुट्टिएर नयाँ शक्ति र त्यसपछि तराईको क्षेत्रीयतावादी राजनीतिसँग जोडिएका डा.भट्टराईले तय गरेका सवै यात्रा असफल बनेका छन् । भट्टराईलाई राजनीतिमा उपयुक्त नभएको बुद्धिजिवीको रुपमा चित्रण गर्नेहरु पनि छन् । आफ्नै अग्रसरतामा सुरु गरेको जनआन्दोलनको स्वामित्व लिन नसकेको आरोप उनी माथि छ।
भट्टराइको राजनीतिमा ढुलमुले चरित्रका कारण नागरिकको आशा निराशामा परिणत भएको छ । जनताले आशा गरेका तर राजनीतिमा दिगो हुन नसक्ने नेताको रुपमा पनि उनलाई बुझ्नेहरुको संख्या ठूलो छ ।
नेपाली राजनीतिमा पद नपाएर पार्टी खोल्ने भट्टराई पहिलो नेता भने होइनन् तर उनले माओवादी पार्टी त्याग्नुको पहिलो कारण पार्टीमा पहिलो व्यक्ति हुन नपाएको तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ‘इगो’ मुख्य कारण रहेको माओवादी नेताहरु बताउँछन्।
नयाँ शक्ति पार्टी खोल्दा ‘सम्भव छ हाम्रै पालामा’ भन्ने नारा लगाउँदै तामझामको साथ प्रचार गर्दा पनि नागरिकले उनीसँग आशा नै गरेका थिए।दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टीको घोषणा गर्दै गर्दा पार्टीको प्रचार शैली ज्यादै आक्रामक थियो। नयाँ शक्ति पार्टी सफल हुने नदेखेपछि भट्टराईले समाजवादी पार्टी नेपाल घोषणा गरेका हुन्।
भट्टराईले समाजवादी पार्टीलाई २०७६ साल बैशाख २३ गते मधेस केन्द्रित दल संघीय समाजवादी फोरमसँग मिसाए। उपेन्द्र यादवलाई नै अध्यक्ष मान्न तयार भएर भट्टराईले समाजवादी फोरमसँग एकता गरेका थिए। भट्टराई संघीय समाजवादी पार्टीको पनि संघीय परिषद अध्यक्षकै भूमिकामा रहेका थिए।
२०७७ वैशाख १० गते सबै मधेश केन्द्रित दल एक ठाउँमा हुने गरी जनता समाजवादी पार्टी जसपा गठन भयो । त्यसपछि भने बाबुराम झन-झन कमजोर बन्दै गएका थिए अन्त्यमा उनी पार्टीविहिन नै बन्न पुगे। सानो होस् तर आफ्नो छुट्टै एजेन्डा सर्वस्वीकार्य होस् भन्ने स्वार्थका कारण कुनै बेलाका विद्वान कहलिएका नेताको यो अवस्था आएको देखिन्छ। उनी सबैसंग मिलेर जान चाहेको जस्तो देखाउने तर परिस्थिति आफु अनूकुल हुने बित्तिकै रंग फेरिहाल्ने प्रबित्तिका कारण उनलाई कसैले बिश्वास गर्दैनन्।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०