काठमाडौँ । नेपालको शान नेपाल प्रालि नामक मेन पावर कम्पनीका लागि कतारस्थित नेपाली दूतावासले गम्भीर अनैतिक काम गरेको देखिएको छ । दूतावास श्रोतले दिएको जानकारी अनुसार कतारस्थित एसियाना कम्पनीले नेपालबाट कामदार लैजाने गरि ५८ वटा कोटाको भिपी प्राप्त गरेको थियो । स्मरण रहोस यो कोटा आफुलाई पार्न समेत शान नेपालले एसियाना कम्पनीलाई अनावश्यक रकम उपलब्ध गराएको थियो । मान्छे लैजाने कम्पनीलाई रकम दिएर कोटा आफुलाई पार्ने र यता नेपाली कामदारसंग मोटो रकम असुल्ने उसको दाउ रहेको छ ।
शान नेपाल नेपाली कामदारलाई थप मर्कामा पार्ने काममा यतिमै चुप बसेन । दूतावासलाई घुस बुझाएरै भएपनि २४ कोटा थप्न लगाएर जम्मा ८२ जनाको डिमाण्ड सदर गराएको बुझिएको छ । टिकट समेत उतैको कम्पनीले पठाउने गरि तय भएका यी कोटाहरु शान नेपालले एजेन्सीलाई रकम बुझाएर यता गरिव नेपाली कामदारसंग जनही ३ लाख रुपैयाँ असुल्ने योजना बनाएको छ । सोही योजना बमोजिम शान नेपालले गोप्यरुपमा ३ लाख लिदै अन्तर्वार्ता गरिरहेको समेत बुझिएको छ ।
यसरी अबैधानिक रुपमा कोटा थप्ने र बिधि नपुगेको फाइल सदर गर्न कतारस्थित दूतावासको मुख्य भुमिका रहेको छ । दुतावासका श्रम सहचारीले राजदूतले रकम माग गरेको भन्दै शान नेपालसंग ७ लाख रुपैयाँ उठाएको दूतावास भित्रकै एकजना कर्मचारीले नाम नबताउने सर्तमा आजको न्युजलाई जानकारी दिएका छन् ।
यसरी मिलेमतोमा फाइल सदर गरि स्वकृतिका लागि बैदेशिक रोजगार विभागमा लगिएको बारे आफुलाई थाहा नभएको बताउदै महानिर्देशक डण्डुराज घिमिरेले गल्ती देखिए करवाही गर्ने आजको न्युलाई बताएका छन् । यस सम्बन्धि फाइल आए नआएको आफुलाई जानकारी नभएको बताउदै महानिर्देशक घिमिरेले भने- म तत्काल अनुगमन गर्छु । त्यस्तो फाइल आफ्नो मातहत आएको भेटिए तत्काल रोक्ने पनि महानिर्देशक घिमिरेको भनाइ रहेको छ ।
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०