काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोसीमा माओवादी केन्द्रका राष्ट्रिय सभा उम्मेदवार पराजय हुँदा कांग्रेसले आफ्नै उम्मेदवार पराजय भएको महसुस गरेको भएपनि माओवादी गठबन्धन गरेको बेला हँसिया हतौडामा भोट हालेको बिर्सिएको आरोप लगाए ।
बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले महासमिति बैठकमा प्रस्तुत प्रस्तावको विषयलाई मुख्य दोष लगाएको उल्लेख गर्दै नेपाली कांग्रेसले डकुमेन्ट समयअनुसार लेखेको बताए ।
उनले भने,‘कांग्रेसले आफ्नो डकुमेन्ट समय अनुसार लेख्छ । नेपाली जनता, नेपाली कांग्रेसलाई सोधेर लेख्छ । नेपाली कांग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोधेर लेख्दैन । त्यसैले यो डकुमेन्टको अवस्थामा चित्त बुझाउनुपर्ने अवस्था छैन ।’ हिन्दु धर्म, राजतन्त्र फिर्ता र यो व्यवस्थाविरुद्ध बोल्ने पार्टीसँग टाउको जोडेर हिँड्दा प्रतिगमन भएन भन्दै शर्माले प्रधानमन्त्री दाहाललाई प्रश्न गरे ।
शर्माले नेपाली कांग्रेसले संविधान निर्माणको नेतृत्व र व्यवस्था लागु गरि १२ बुँदे सहमति गरेको उल्लेख गर्दै प्रधानमन्त्री नै अस्थिरताको जड रहेको बताए ।
बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा उनले पहिले धोका पाएको एमाले र कांग्रेस मिले के होला भन्दै प्रश्न सोधेका छन् ।
‘पोहोर एमाले विपक्षमा रहेको, अहिले कांग्रेस विपक्षमा रहेको । पक्षको मात्रै जोड्दै गर्दा पालैपालो विपक्षमा रहेको क्लियर हुँदैन र हिसाब ? धोका खाएकाहरू एकै ठाउँमा उभिए भने नि, धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि ?,’ उनले भने, ‘तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू ? अघि यहाँले कांग्रेसको कसैलाई राजनेता भन्नुभएको छ ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच सहमति हुने संकेत गर्दै प्रचण्डको प्रधानमन्त्रीको पद नरहने बताए ।‘कुरा नचल्ने भनेर भन्नुभयो पूर्व प्रधानमन्त्रीज्यू (केपी शर्मा ओली) ले, तलबाट हाम्रा सभापतिज्यूले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो । कुरा नचल्नेहरूको कुरा चल्न सुरु गर्यो भने यहाँको यात्राचाहिँ कता चल्छ होला प्रधानमन्त्रीज्यू ,’शर्माले भने ।
यस्तै शर्माले कांग्रेस माओवादीको मात्रै बलमा ठुलो पार्टी नभएको बताए । ‘कांग्रेसले कुनै समय एक्लै दुई तिहाइ, कहिले बहुमतमा रहेको थियो । तर तपाईंहरू कांग्रेसलाई पहिलो दल बनायौँ भन्दा गर्दा मुस्किलले तेस्रो डिभिजनमा आउँदा हाम्रो पनि सहयोग छ भन्ने कुरा कसरी बिर्सनुहुन्छ ?’, शर्माले भने ।
शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि पनि कटाक्ष गरेका छन् । पुराना नेताहरूलाई अब प्रधानमन्त्री बनाउनुहुन्न भन्नेहरू तिनै नेताहरूलाई प्रधानमन्त्री बनाउन कुदिरहेको शर्माले बताए । ‘नयाँ दल बनाएर बडो उत्साहका साथ आएका साथीहरूको उत्साहलाई सम्मान गर्नुपर्छ । नयाँ दललाई कल्पनाको आकाशबाट वास्तविकताको जमिनमा ल्याउनुभएको छ, व्यवहारिक बनाउन खोजेको अवस्था छ । उत्साह हुन्छ, हुनुपर्छ तर त्यो व्यवहारिक जमिनमा आउनुपर्छ,’ उनले भने ।
नयाँ राजनीतिक दलहरू कल्पनाको आकाशबाट वास्तविकताको धरातलमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिका खेलेको उनको भनाइ थियो । शर्माले भने, ‘चुनावमा जाँदा नो नट अगेन, कुनै यी देखिएका बूढा अनुहार प्रधानमन्त्री बन्नुहुन्न अनि कहिले बालुवाटार कहिले खुमलटार, अहिले त अगेन एन्ड अगेन, सरकारमा फेरि पनि फेरि पनि ।’
मिसन २०८४ लिएर हिँडिरहेका नयाँ दलहरूलाई वर्तमानतिर ध्यान दिन उनको आग्रह छ । ‘यो देशमा केही भएको छैन, २०८४ मा हामी आउँछौं र बनाउँछौं भन्ने दलहरू विभिन्न परियोजनाको पदयात्रामा जाँदा देशमा केही भएको होइन कि केही भइरहेको छ तर ढिलो भइरहेको छ भन्ने उनीहरूमा ज्ञान आएको छ ।’
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०