काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरूलाई बेइमान भन्नुअघि आफ्नो विगत सम्झिन आग्रह गरेका छन् । कांग्रेसले गठबन्धन बदल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयलाई राजनीतिक बेइमानी भनेको छ ।
बुधबार संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले कांग्रेसले धोका भएको भनेकामा आश्चर्य लागेको बताए ।
‘नेपाली कांग्रेसले रोस्ट्रममा उभिएर जुन इमानको कुरा गर्यो त्यसले अचम्म लाग्यो । कसरी भन्न सकेको होला, ढुक्कैले ?’, ओलीले भने, ‘एउटा औला अरूलाई देखाउँदा अरू औला आफूतिर फर्किन्छन् भन्ने बिर्सिनु हुँदैन ।’
ओलीले आफूलाई कांग्रेससँग भनाभन गर्न मन नलागेको भन्दै आफूलाई इमानको खानी र वाचा बन्धनमा अडिएको नठान्न आग्रह गरे । ‘साह्रै वाचावन्धनमा अडिएको, इमानै इमानको खानी, बेइमानी भनेको थाहै नपाएको, गर्दै नगर्ने, देख्दै नदेखेको भन्दा आश्चर्य मात्रै व्यक्त गरेको’ ओलीले भने ।
ओलीले संविधान निर्माणपछि आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको अवस्थामा कांग्रेसले धोका दिएको स्मरण गरे ।
‘०७० सालको चुनावपछि नेपाली कांग्रेसको बहुमत थिएन । तर हाम्रोभन्दा दुई सिट भए पनि बढी थियो, त्यसैले उसले प्राथमिकता पाओस् । नेपाली कांग्रेसको नेता प्रधानमन्त्री हुनुहोस्, त्यसपछि हामी बनौँला भनेर मैले नै भनेको थिएँ’, उनले भने, ‘‘ पछि त सहमति पालना गर्नु कता हो कता । (प्रधानमन्त्रीमा) प्रस्ताव गर्नुहोला भनेको त आफै उम्मेदवार हुन पुग्नुभयो ।’
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०