काठमाडौँ । कतारका लागि नेपाली राजदूत डा नरेश विक्रम ढकाल र दूतावासका श्रम सहचारीको मिलेमतोमा नेपालको एक मेनपावर कम्पनीलाई अवैध कामका लागि स्वीकृति प्रदान गरिएको छ । नेपालको शान नेपाल प्रालिसंग अबैध लिनुदिनु गरि राजदूत ढकाल र श्रम सहचारीले कतारको एसियाना कम्पनीमा मान्छे पठाउने गरि त्यस्तो सहमति दिएको नाम नबताउने सर्तमा कतारस्थित नेपाली दूतावासका एक कर्मचारीले बताए ।
एसियाना कम्पनीमा क्लिनर लगायत विविध कामका लागि भन्दै मान्छे पठाउने गरि शान नेपाल प्रालिलाई यस्तो फाइल स्वीकृत गरिएको हो । शान नेपालले एसियानासंग यस्तो काम लिनका लागि समेत अन्डर टेवल कारोवार गरिएको बुझिएको छ । जबकी यसअघि एसियाना कम्पनीले नेपालबाट कामदार लिदा जहिलेपनि निशुल्क लिने गरेको थियो । बरु उल्टै कामदार लैजान एसियानाले टिकट समेत प्रदान गर्ने गरेको थियो । तर यसपटक शान नेपालले उल्टै एसियानालाई मान्छे लिइदिए बापत रकम दिएको,कागज पत्र नमिलेको अबैध फाइल समेत मिलेमतोमा स्वीकृत गर्ने गरेको दूतावासका ती कर्मचारीले बताए ।
आफुले एसियानालाई पैसा दिने सहमति गरेपछि शान नेपालले सो कम्पनीमा पठाए बापत प्रत्येक नेपाली कामदारसंग ३ लाख रकम उठाउने तयारी गरेको छ । दुतावासबाट स्वीकृत फाइल यता नपुग्दै गोप्यरुपमा कामदारको अन्तर्वार्ता गरिरहेको श्रोतमार्फत आजको न्युजले जानकारी पाएको छ । राजदूत ढकाल र श्रमसहचारीले त्यो अवैधानिक फाइल सदर गरे बापत लाखौ रुपैयाँ शान नेपालसंग बुझेको पनि श्रोतले जनाएको छ ।
दूतावासका दुइ उच्च अधिकारीलाई मोटो रकम बुझाउनुका साथै एजेन्सीलाई पनि निशुल्क कामदार लैजानुको सट्टा उल्टै रकम दिने सहमति गरेको शान नेपाल प्रालिले नेपाली कामदारको थाप्लोमा ३ लाखको भारी बोकाउने तयारी गरेको हो । यस सम्बन्धमा कतारस्थित नोपली राजदूत डा नरेश ढकालले दूतावासभित्रका कुनैपनि कामको नैतीक जिम्मेवारी लिने भएपनि आफुकहाँ त्यस्तो फाइल नआउने आजको न्युजलाई बताए ।
राजदूत ढकालले भने कामदार ल्याउने बारेको कुनैपनि फाइल आफुकहाँ नआउने भएकाले मलाई जानकारी हुँदैन यदि दूतावास भित्र त्यस्तो रहेछ भने म छानविन गर्छु । मेरो नाम लिएर कसैले रकम लिएको भए त्यो आपराधिक काम भएको र त्यसको छानविन गर्ने राजदूत ढकालको भनाई थियो । यस्तै शान नेपाल प्रालिका निर्देशक नवलकिशोर यादवले भने आफुहरुले एसियाना कम्पनीसंग कुनै कारोवार नगरेको दावी गरे । उनले भने यो गलत आरोप हो हामीले त्यस्तो कुनै कारोवार गरेका छैनौ ।
बैदेशिक रोजगार विभागले भने यसअघि यस्तो जानकारीमा नभएको भएपनि अब छानविन गर्ने बताएको छ । विभागका उच्च अधिकारीका अनुसार शान नेपालबारेको यो जानकारीका आधारमा छानविन गर्ने र दोषी देखिए हदै सम्मको कारवाही गरिनेछ । निशुल्क कामदार लैजाने कम्पनीलाई पनि उल्टै रकम दिएर नेपाली कामदारसंग रकम असुल्ने कार्य गम्भीर अपराध भएकाले विभाग चुप नबस्ने विभागले जनाएको छ ।
जसरी पनि आफुले काम लिने मेनपावर कम्पनीहरु बिचको अस्वस्थ्य प्रतिस्पर्धाका कारण नेपाली कामदारमाथी गम्भीर अन्याय हुने गरको छ । शान नेपालले पनि निशुल्क कामदार लैजाने कतारी कम्पनीलाई उस्काएर उल्टै नेपाली कामदारको थाप्लोमा ३ लाखको भारी बोकाउने तयारी गरेको छ । जुन कामदार माथी गरिएको गम्भीर अपराधका रुपमा लिन सकिन्छ । यस्तो अस्वस्थ प्रतिस्पर्धाको मारमा कामदार परिरहेको बिषयमा सरकारका सम्बन्धित निकायले तत्काल कदम चाल्न आवस्यक छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०