काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । आज (सोमबार) कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्विप जारी गरेका हुन् ।
आफ्ना सांसदहरुलाई फागुन ३० को प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थिति हुन कांग्रेसले निर्देशन दिएको छ । नयाँ सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको कांग्रेसले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ । कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले फागुन ३० गते विश्वासको मत लिने प्रयोजनका लागि आइतबार संसद सचिवालयलाई पत्र पठाएका थिए ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०