काठमाडौँ । वर्तमान सत्ता गठबन्धन तोड्न नेपाली काँग्रेसले प्रयास गरिरहेको छ । काँग्रेसले नेकपा एमाले र माओवादीसहितको गठबन्धनमा बनेको नयाँ सरकारको पक्षमा बहुमत पुग्न नदिन प्रयास गरिरहेको हो ।
काँग्रेसले प्रधानमन्त्रीमा विभिन्न दलका नेताहरूलाई अफर गरेर वर्तमान गठबन्धन तोड्ने र नयाँ सरकारको पक्षमा बहुमत पुग्न नदिने प्रयास गरेको चर्चा चुलिएको छ । काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको विषय मङ्गलवार दिनभर चर्चामा थियो ।
यसै गरी बुधवार बिहानैबाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको अफर गरेको चर्चा छ । तर, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रधानमन्त्रीमा कसैलाई पनि अफर नगरेको बताउँछन् । उनले प्रधानमन्त्रीको अफर गरेको विषय अस्वीकार गरे पनि काँग्रेस स्रोतलाई उदृत गर्दै समाचारहरू आइरहेका छन् ।
धोका दिएका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बन्न नदिने प्रयासमा काँग्रेस छ । धोका दिएका प्रचण्डलाई पाखा लगाउन काँग्रेसले राष्ट्रिय सभा अध्यक्ष पनि एमालेलाई नै अफर गरेको चर्चा छ । काँग्रेस नेतृत्व निरन्तर अन्य दलसँगको संवादमा छ । सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् ।
यसै गरी काँग्रेसले नयाँ बनेको गठबन्धनमा सहभागी हुन हतार नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सन्देश पठाएको छ । प्रचण्ड गठबन्धनको सरकारमा सहभागी काँग्रेसले लिङ्देन र नेपाललाई पनि सन्देश पठाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०