काठमाडौँ। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । २ बजेदेखि सुरु हुने अधिवेशनमा प्रदेश सरकारले विभिन्न सात वटा विधेयक पेश गर्ने तयारी गरेको छ ।
विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस गरिने सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिए ।
त्यस्तै, अधिवेशनमा प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।
यसअघि प्रदेश मामिला तथा कानुन समितिद्वारा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भइसकेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०