काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सरकारको सुशासनको नारा कार्यान्वयन नभइरहेको बताएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा उनले बहालवाला मन्त्रीहरू माथि नै कयौँ आरोपहरू रहेको भन्दै सरकारले सुशासन कायम गर्न नसकेको बताएका हुन् ।
‘सरकारका मन्त्री अख्तियारमा झन्डा हल्लाएर बयान दिन जान्छन् सरकार हामी शासनमा छौँ भन्छ । मन्त्री नै बयान दिन जान्छन् भने कस्ता सुशासन हो ?’ उनले प्रश्न गरे ।
कृषि मन्त्रालय खारेज गर्न उनले सुझाव दिए । किसानका समस्याहरू सम्बोधन नगर्ने मन्त्रालयलाई कर्मचारीहरूलाई तलब दिएर मात्रै राख्न नहुने उनको भनाइ थियो ।
कृषि मन्त्रालयको खातामा भएको अरबौँ रकम किसानको खातामा पठाऔँ मन्त्रालयले कर्मचारी र मन्त्री पालेर मात्रै काम छैन उनले भने ।सांसद सिंहले मन्त्री र प्रधानमन्त्रीलाई आफ्नो क्षेत्रको बजेटमा कुनै निर्णय गर्न नसक्ने कानुनी व्यवस्था गरे मात्रै समान विकास हुने बताए ।
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०