काठमाडौँ । नेकपा माओवादी केन्द्रको बिहीबारबाट जारी स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिका बारेमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
बिहीबारको बैठकमा माओवादी विशेष रूपान्तरण अभियानको वर्गीकरण र मूल्याङ्कन,आउँदो अभियानको तयारी,संगठनात्मक कार्यविभाजन,सुदूरपश्चिम प्रदेशमा दल नेता फेरबदललगायतका विविध चारवटा एजेण्डामा केन्द्रित रहेर छलफल गरेको माओवादीका प्रवक्ता अग्नी प्रसाद सापकोटाले बताए ।
आजको बैठकमा भने भूकम्पपछिको पुनर्निर्माण,मधेश प्रदेश सरकारलाई विस्वासको मत दिनेबारे छलफल गर्नुका साथै माओवादी विशेष रूपान्तरण अभियानमा उत्कृष्ट काम गर्ने सातै प्रदेशबाट तीन/जना सहित थप तीन प्रदेशका-माओवादीले मानेको उपत्यका विशेष कमिटी र अन्य दुई संगठनात्मक विभाग सहित)उत्कृष्ट योगदान गर्नेलाई सम्मान गर्ने र कम योगदान गर्ने तथा योगदान नै नगर्नेलाई सोहीअनुसारको कारबाही गर्ने कार्यक्रम तय गरेको प्रवक्ता सापकोटाले बताए । माओवादीले अभियानमा राम्रो,नराम्रो दुवै काम गर्नेको नाम आजै सार्वजनिक गर्दैछ ।
‘पहिलो पटक हाम्रो पार्टीले कामको आधारमा मूल्याङ्कन गरेको छ । अभियानमा सबैभन्दा बढी खट्ने, राम्रै खट्ने, खट्ने तर काम नगर्ने, नखट्ने गरी चार क्याटेगरीमा छुट्याएका छौं । त्यो मध्ये १० वटै प्रदेशबाट तीन,तीन जना उत्कृष्ट काम गर्ने र काम नगर्ने नेतालाई कारबाही गर्ने निर्णय भएको छ,त्यो नामहरू आजै सार्वजनिक गर्छौ । राम्ररी काम नगर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाउने, चेतावनी, निलम्बनलगायत हुनेछन्,’ सापकोटाले भने ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०