काठमाडौँ । काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनका दुई छोरीहरु छन् ।
ईश्वरी श्रेष्ठ र उनका छोरीहरु ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया शिवानी श्रेष्ठ आफ्नो डेरामा मृत अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका उनीहरु नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए । भुइँतलाको डेरामा मृत भेटिएका आमा र बच्चाको टाउकोमा चोट लागेको छ । घरेलु हतियार प्रहार गरेर उनीहरुको हत्या भएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
प्रहरीका अनुसार सितापाइला घटनामा थप एक जनाको शव फेला परेको छ । श्रीमती र दुई छोरी कोठामै मृत फेला परेकामा श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ। श्रीमती र दुई छोरीको हत्यापछि ति पुरुषले पनि आत्महत्या गरेको बुझिएको छ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०