काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिले लिनुपर्ने थप संकल्पबारे प्रस्ताव राखेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज हलमा फागुन ७ गतेदेखि जारी महासमिति बैठकले लिनुपर्ने थप संकल्पबारे पौडेलले प्रस्ताव राखेका हुन् ।
उनले ८ पृष्ठको २८ बुँदे पूरक प्रस्ताव बुधबार महासमिति सदस्यहरूलाई बाँडेका छन् । जनताले मतदान गर्ने निर्वाचनमा कांग्रेसले निर्वाचन पूर्व अन्य कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्न महासमितिले निर्देश गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ ।
निर्वाचनका लागि उम्मेदवार छनोट र टिकट वितरणका लागि सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारेज गरी उम्मेदवार छनोट गर्न प्राइमरी इलेक्सन गर्ने उनको भनाइ छ ।
सबै तहको नेतृत्वमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने, भ्रातृ संस्थाका अनिवार्य महाधिवेशन, मनोनीत बन्द गरिनुपर्ने, महाधिवेशन सकेको एक महिनाभित्र सबै विभाग र समिति गठन गरिसक्नुपर्ने कुरा उनको प्रस्तावमा उल्लेख छ ।
निष्पक्ष व्यक्तिहरूलाई सहभागी गराएर भ्रष्टाचार र अनियमिततामा जोडिएकाहरूमाथि पार्टीकै अग्रसरतामा छानबिन गर्नुपर्ने उनको भनाइ छ । केन्द्रीय सदस्यले एक महिनाभित्र सम्पत्ति र त्यसको स्रोतको स्वघोषणा गर्नुपर्ने पनि पौडेलको प्रस्तावमा उल्लेख छ ।
पूर्णपाठ हेर्नुहोस :
https://drive.google.com/file/d/1BaT6C5rqd8FhqTwfxfEreltBXfVr77Uc/view?usp=drive_link
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०